गहुँ–जौको सट्टा सामूहिक स्याउखेती

गहुँ–जौको सट्टा सामूहिक स्याउखेती

खलङ्गा : जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।

जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तातोपानी –६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैँचा बनाउन जुटेका छन् । यहाँ एक लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे पाँच हजार स्याउका बिरुवा रोपिएको छ ।”

सो जमिनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताउनुभयो । हिँयाखोलामा रोजगारीका अवसरसमेत छैनन् । बेरोजगार युवालाई रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ शैक्षिक र आर्थिक हिसाबले निकै पछाडि छ, गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उठाउनेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।”

अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भन्नुभयो, “स्याउ किसान स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।”

ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैँचा बनाउने स्थानीयवासीको प्रयासलाई सहयोग पुग्ने गरी स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रु २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रु पाँच लाख बजेट दिने घोषणा गरेको उहाँले बताउनुभयो ।

सो बगैँचाको घेराबारका लागि रु ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि छैन ।”

स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जनाएको छ । सामूहिक कृषि खेती गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिनुभयो । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताउनुभयो । परियोजनाले यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरिएको जनाएको छ । जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares