तरकारी खेतीमा लाही कीरा : एकीकृत समाधान

तरकारी खेतीमा लाही कीरा : एकीकृत समाधान

चुसाहा समुहमा पर्ने लाहीकीरा प्रकोप र यसले गराउने क्षतिको हिसाबमा खेतबारी विशेषत तरकारी बालीको प्रमुख समस्या हो । छोटो समयमा ठुलो संख्या वृद्धी गर्न सक्ने र किसानहरुको उत्पादनमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ठुलो क्षती पुर्याउने हुँदा यसको व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ ।

विशेष गरी उच्च सापेक्षित आद्रतामा लाहीको सन्तानोत्पादन बढी हुने र किसानको उत्पादनमा ठुलो क्षति पुयाउने हुँदा किसानहरुलाई बेलैमा सजग गराइ उत्पादकत्व बढाउन किसानले बुझ्न सक्ने भाषा र शैलीमा यहाँ लाहीको पहिचान, जीबनी, क्षतिको साथै यसको व्यवस्थापन गर्न अपनाउन पर्ने उपायहरु बताइएको छ ।

पहिचानका लक्षणहरु

लाही कीराको शरिर मधुरो हरियोदेखि हरियोे वा पहेंलो मिसिएको वा कालोे हुन्छ । यिनीहरुको शरिर नरम तथा पेटको पछिल्लो भागमा दुईवटा मसिना नली वा पुच्छर जस्ता अङ्ग हुन्छन् । यिनीहरु पखेटासहित र पखेटारहित दुबै हुन्छन् । यिनीहरु समुहमा बस्न रुचाउछन् । बच्चा लाहीहरु रङग र आकारमा वयस्क जस्तै हुन्छन् तर साना हुन्छन् ।

नेपालमा तरकारी बालीहरुमा विशेषत हरियो आरुको लाही (Myzuspersicae) बन्दाको लाही (Brevicorynebrassicae), तोरीको लाही (Lipaphiserysimi, बोडीको लाही (Aphis craccivora), कालो सिमीको लाही (Aphis fabae), कपासको लाही (Aphis gossypii) इत्यादी प्रजातीको प्रकोप उच्च देखिन्छ ।

जीवनी :- पोथी लाहीले भालेसँगको संसर्गबाट वा संसर्ग विना नै मसिना बच्चा पैदा गर्छन्, जो एक हप्तापछि पूर्ण विकसित भएर बच्चा पैदा गर्छन् । यसको जीवनचक्र निकै छोटो भएकोले छोटो अबधिमै यसको संख्या अति हुन जान्छ । गर्मीमाभन्दा जाडोमा यसको समस्या ठूलो देखिन्छ ।

क्षतिको प्रकृती :- यिनीहरुले विरुवाका पात र कलिला डाँठ फुल र फलबाट आफ्नो तिखो छेड्ने र चुस्ने खालका सुँडको सहायताबाट रस चुस्छन्, जसले गर्दा बिरुवा बढ्न सक्दैनन् वा पहेलिन्छन्, कोसामा दाना लाग्दैनन् वा लागे पनि बिउ÷दाना पुष्ट हुँदैनन् । लाही लागेका हरिया तरकारी खान योग्य हुदैनन् । साथै स्वस्थ विरुवामा विभिन्न थरिका भाइरस रोगहरु (मोजाइक, लिफ रोलिङ, स्पिन्डल, भेनल नेक्रोसिस, आदी) सार्दछन ।

तिनीहरुले गुलियो र च्यापच्यापे पदार्थ (honey dew) निस्काशन गर्छ, जसमा ढुषि विकसित हुन्छन् । पछि जमेर बिरुवाका पात तथा डाँठ काला देखिन्छन् । फलस्रुप प्रकाश संश्लेषण क्रियामा कमि आई बिरुवा अझ रोगाउंछ । सङक्रमित पातहरुमा हरियो उडेको धब्बा बन्छन् । चिसो अवस्थामा लाहीको सङख्या छिटो बढ्छ । लाहीबाट प्रत्यक्षभन्दा अप्रत्यक्ष हानी धेरै हुन्छ ।

कीराको अनुगमन :- यो आई.पि.एम. विधिको सवैभन्दा महत्वपूर्ण पक्ष हो । यदि शुरुकै अवस्थामा कीराको उपलब्धताबारे जानकारी पाउन सकियो भने व्यवस्थापनका उपायहरु वातावरणमा प्रतिकूल असर नपर्ने गरी निश्चित क्षेत्रमा प्रयोग गरेर वा कम मात्राको विषादीप्रयोग गरेर कीराको रोकथाम गर्न सकिन्छ । कीराको अनुगमन सर्भे सर्भेक्षण गरेर गर्न सकिन्छ । कीरा आउने समयभन्दा अगावै अनुगमन कार्य शुरु गर्नुपर्छ । कीराको अनुगमन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१.तरकारीको पातको तल्लो र माथिल्लो दुबै भागमा हेर्दा लाही कीरा देखिने र हावापानी पनि लाही कीरा बढ्नको लागि सुहाउदो भए व्यवस्थापनको उपाय अपनाउने ।

२.पखेटा भएका लाहीकोे कृयाकलाप अनुगमन गर्न प्र्रति रोपनी ४ पहेलो पासो बिरुवाको उचाईमा थाप्ने । यदी पासोमा लाहीकीरा पर्न थालेमा तल बताइए बमोजिम व्यवस्थापनका उपायहरु अपनाउनुपर्छ ।

व्यवस्थापनका उपायहरु :- लाही कीरा प्रकोपको रुपमा जुनसुकै बेलामा पनि देखा पर्ने हुदा यस कीराको व्यवस्थापनको लागि कीराको अनुगमनको साथै यसको व्यवस्थापनका सबै एकीकृत तरिकाहरु वुद्धिमतापुर्बक प्रयोग गर्नु अपरिहार्य छ, जुन तल बिस्तारमा बताइएको छ ।

१.सन्तुलित मलखादको प्रयोग गर्ने । बढी नाइट्रोजनयुक्त मलखाद प्रयोग गर्दा पातहरु कलिला भई लाहीको आक्रमण बढी हुन्छ ।

२.स्वस्थ बिरुवा रोप्ने, जसको लागि नर्सरी हुर्काउदा तलको चित्रमा देखाएझैँ जालीदार घरको प्रयोग गर्दा राम्रो हुन्छ ।

३.लाही कीरालाई प्राकृतिक मित्र जीव जस्तै स्त्री खपटे, क्राइसोपर्ला, विभिन्न किसिमका शिकारी झिँगाहरुले खाने हुंदा यिनीहरुको संरक्षण गर्नाले पर्यावरण मैत्री तरिकाबाट व्यबस्थापन गर्न सकिन्छ । कीट बिज्ञान महाशाखा, खुमलटारले क्राइसोपर्लाको बगाल उत्पादन प्रविधि विकाश गरेको छ ।

४.विहानको समयमा खरानीको धुलो छर्कने । त्यस्तै रातो माटो बिरुवाको सतहमा छर्कदा पनि राम्रो पाइएको छ ।

५.साबुन पानीको झोल वा साबुन पानीको झोल र खरानीको मिश्रणबाट लाही कीराको रोकथाम हुन्छ । मिश्रण बनाउन खरानीलाई पानीमा १ः४ को अनुपातमा मिसाएर १२ घण्टा भिजाइ कपडामा छानी प्रति लिटरमा १० ग्राम साबुन मिसाउनु पर्दछ ।

६.नीमको दानाको निचोरिएको झोल, सुर्तीको झोल, असुरोको पातको निचारिएको झोल, मेन्थाको पात÷डाँठको झोल, तितेपातीको पात÷डाँठको झोल, बकाइनाको दानाको निचोरिएको झोल, साबुन + सुर्तीको झोल इत्यादीलाई उपर्युक्त मात्रामा पानीमा मिसाइ प्रयोग गरेमा लाही रोकथाम गर्न सकिन्छ ।

७.गाइको पिसाब १ः४ को अनुपातमा छर्कदा लाहीको रोकथाम हुन्छ । विभिन्न किसिमका तितो, टर्रो, पिरो, गन्ध आउने इत्यादी प्रकारका वनस्पतीहरु जस्तै, खिर्रो, निम, तितेपाती, असुरो, सिस्नु, प्याज, लसुन, बकाइना, सिमल, बोझो, बनमारा, केतुकी, गन्धे झार, बेसार, भाइमारा, पिरे झार, टिमुर, अदुवा, सुर्ती इत्यादीलाइ गाइको पिसाबमा जाँड बनाएजस्तै गरी बन्द भाडामा राखी २० देखी ३५ दिन सम्म कुहाएर कपडामा छानी १ः ६ को अनुपातमा प्रयोग गर्न सकिन्छ ।

८.जीवजन्य बिषादी भर्टिसिलियम लेउकानी १ मिली वा धुलोमा भए २ गा्रम प्रति लिटर पानीको दरमा स्प्रे गर्दा लाहीको रोकथाम हुन्छ र यस्तो जीवजन्य बिषादीबाट वातावरणमा हानी पुग्दैन् ।

९.डेरिस बिरुवामा आधारित बिषादी, डेरिसोम २ मिलीप्रति लिटर पानीको दरमा स्प्रे गर्ने ।

१०.मालाथिएन (५०%) झोल १ देखी २ मिलीप्रति लिटर पानीमा वा डाइमेथोएट समुहको बिषादी १ मि.ली प्रतिलिटर पानीमा मिसाएर हरेक १५ दिनको अन्तरमा छरेर व्यवस्थापन गर्न सकिन्छ । यी विषादी छरेपछि कम्तीमा पनि एक हप्ता फलहरु टिपेर खानु हुदैन् ।

११.निवोनिकोटिनोइड्स समुहको विषादी निटेनपाइरान (१०%) ०.७५ मिलीप्रति लिटरको दरमा स्प्रे गर्दा पुरापुर लाही सखाप बनाउंछ, तर यसलाइ खायनमा भन्दा बिउ उत्पादनको बालीमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई हानी पुयाउन पाउदैन् ।

सोचनिय के छ भने कीराको विष पचाउने क्षमतामा वूद्धि रोक्न एउटै समुह वा उही यौगिक सुत्र भएको विषादी लगाताररुपमा प्रयोग गर्नुहुदैन । विषादीको जथाभावि प्रयोग गरियो भने त्यसले वातावरणमा रहेको जैविक नियन्त्रण प्रक्रियालाइ बिगार्छ भने पहिले हराएको कीरा, नगन्य मानिएको कीरा (सहायक किरा) र अन्य कीराहरुकोसमेत प्रकोप तथा जोखिम बढाउंछ । त्यसैले बिषादीको प्रयोग गर्नु भन्दापहिले बिज्ञहरुसग सम्पर्क गर्नुपर्छ ।

सधै बिषादीको लेवल ध्यानपुर्वक हेर्नुहोस् । बिषादी प्रयोग गर्दा सबै सावधानीका उपायहरु अपनाउनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares