अनुदानको मल प्लाइउड फ्याक्ट्री र रक्सी कारखानालाई

अनुदानको मल प्लाइउड फ्याक्ट्री र रक्सी कारखानालाई

काठमाडाैं : केही महिनादेखि मलको हाहाकारका जसरी समाचारहरू आइरहेका छन्, त्यसलाई हेर्ने हो भने यस वर्ष धान उत्पादन उल्लेख्य रूपमा घट्नु पर्ने हो । तर, उल्टो यस वर्ष विगतको तुलनामा उल्लेख्य रूपमा धान उत्पादन बढिरहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख भानु पोख्रेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्तीमा १५ प्रतिशत धान उत्पादन बढ्ने देखिएको छ । उहाँका अनुसार गत वर्ष करिब ५४ लाख मे.टन धान उत्पादन भएकोमा यस वर्ष करिब ६० लाख मे.टन धान उत्पादन हुने देखिएको छ ।

कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण रेग्मी भरखर धान काट्न सुरु गरिएकोले कति धान उत्पादन हुन्छ भनेर यकिन रूपमा अहिले नै भन्न नसकिए पनि धान उत्पादन बढ्ने देखिएको छ । ‘२ नं प्रदेशमा रोग र किराको अलिकति प्रकोप देखियो । त्यसले गर्दा अलिकति समस्या भयो । अन्यथा यस वर्ष धान उत्पादन राम्रो हुदैछ’ रेग्मीको भनाइ छ । प्रदेश १ को कृषि मन्त्रालयमा कार्यरत धान विज्ञ डा. राजेन्द्र उप्रेती धान रोप्ने बेलादेखि पछिसम्म पनि लगातार पानी परिरहेकोले यस वर्ष धान उत्पादन राम्रो भएको बत्ताउँछन् । ‘यस वर्ष सुरु देखि नै लगभग एकै नासले पानी परिरह्यो । त्यसले गर्दा सिँचाइ पर्याप्त हुन सक्यो । धान लगाउने बेलामा मल नपाए पनि पछिबाट किसानहरूले मल व्यवस्थापन गरे, त्यसले गर्दा उत्पादन बढ्यो’ उप्रेतीको भनाइ छ । उप्रेतीका अनुसार प्रदेश १ मा गत वर्ष २ लाख २४ हजार मे.टन धान उत्पादन भएकोमा यस वर्ष २ लाख ४३ हजार मे.टन उत्पादन हुने अनुमान गरिएको छ ।

रासायनिक मल नपाएर हाहाकार मच्चिएकोले धान उत्पादनमा प्रतिकूल असर पर्ने कुरा निकै जोडतोडले उठिरहेको बेला आएको पछिल्लो तथ्याङ्क भने निकै सकारात्मक तर मलको हाहाकारलाई ‘काउन्टर’ दिने खालको छ । यदि साँच्चै रासायनिक मलकै कारण धान उत्पादनमा प्रतिकूल असर पर्ने भए यो वर्ष सबैभन्दा कम धान उत्पादन हुनु पर्ने थियो । तर, परिणाम ठिक उल्टो देखियो । मल हाहाकारकै बिचमा धान उत्पादन बढ्नुले कतै मलको समस्या वास्तविकता भन्दा बढी देखाइएको त होइन ? अथवा मलको हाहाकार यथार्थभन्दा बढी नियोजित त होइन ? प्रश्न उठ्नु स्वाभाविक हो ।

युरिया मलः किसानको खेतमा होइन, प्लाइउड कारखाना र रक्सी कारखानालाई

धेरैलाई अचम्म लाग्न सक्छ, युरिया मल किसानले उत्पादन बढाउन मात्र प्रयोग गर्दैनन्, प्लाइउड फ्याक्ट्रीहरू, घरेलु रक्सी उत्पादकहरू, रङ्ग कारखाना र निर्माण सामाग्री सम्बन्धी उद्योगहरूले पनि प्रयोग गर्छन् । यस मध्ये सबैभन्दा बढी प्लाइउड फ्याक्ट्रीहरूले गर्छन् ।

राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष धुर्व यादवको भनाइलाई मान्ने हो भने त नेपालमा खपत हुने कूल युरिया मल मध्ये करिब २५ प्रतिशत प्लाइउड फ्याक्ट्रीले मात्र खपत गर्छन् । ‘यसमा गज्जबको खेल हुँदो रहेछ, तल तल बस्ने हामीहरूले त थाहै नपाउने, माथि माथिबाटै सबै हिसाब किताब मिलाइने, सहकारी संस्थाकै नाममा विल काट्ने, कारोबार गर्ने र माथिबाटै हिसाब मिलाउने कामसमेत हुँदो रहेछ । हाम्रो नाममा (अर्थात् सहकारीको नाममा) आएको मल माथिबाटै हिसाब किताब गरेर खरिद विक्री हुँदा पनि हामीले थाहा पाउँदा रहेनछौँ’ यादवले भने ।

आफूहरू स्वयंले प्लाइउड फ्याक्ट्रीको भ्रमण गर्दासमेत प्रत्यक्ष रूपमा युरिया प्रयोग गरेको देखेको बताउँदै यादवले भने– यसमा निकै ठुलो खेल छ । मलका बिचौलिया र सरकारको उच्च पदस्थ अधिकारीहरूले मिलेमतोमा डाइरेक्ट कारोबार गर्ने हुनाले तलकालाई त केही थाहै हुँदैन ।

‘किसानले सहज रूपमा किन्न नपाएपछि भारतबाट एक, दुई किलो मल ल्याउँदा प्रहरी प्रशासनले चोर डाँकालाई जस्तो व्यवहार गर्छन्, तर बिचौलियाहरूले किसानले अनुदानको मल बिचबाटै प्लाइउड फ्याक्ट्रीलाई बेचिदिँदा रोक्ने कोही छैन’ यादवको भनाइ छ । यादवका अनुसार किसानले अनुदानमा पाउनु पर्ने युरिया खपत गर्नेहरूमा साना प्लाइउड फ्याक्ट्रीभन्दा पनि ठुला प्लाइउड उद्योगहरू धेरै छन् ।

नेपालमा करिब ७० वटा प्लाइउड फ्याक्ट्रीहरू छन् । ती मध्ये ८,१० वटा ठुला खालका प्लाइउड फ्याक्ट्री छन् भने अरू साना तथा मझौला खालका छन् । प्लाइउड फ्याक्ट्रीहरूले केमिकल र नाइट्रोजन मिसाएर प्लाइउड टाँस्ने काममा युरिया मलको प्रयोग गर्छन् । त्यसको लागि उनीहरूले सम्भव भएसम्म सहकारी संस्थाहरूले सरकारबाट पाउने अनुदानको मल खरिद गर्ने र नसकेमा भारत वा चीनबाट युरिया ल्याउने गर्छन् । जानकारहरूका अनुसार ८ वाई ४ साइजको प्लाइउडको १५ हजार पिस बनाउन ६ क्विन्टल जति युरिया मल प्रयोग गरिन्छ । ‘पहिले त अलि सजिलो थियो, अहिले चाही नेपाली बजारबाट युरिया किन्न पनि निकै चुनौतीपूर्ण र झन्झटिलो भएको छ’ नवलपरासीको रामग्राम नजिकै रहेको एभरग्रिन व्याम्बोका सञ्चालक डम्बरदेव अर्याल भन्छन् ।

नेपाल प्लाइउड एसोसिएसनका महासचिव होम प्रसाद घिमिरे प्लाइउड फ्याक्ट्रीहरूले पहिले पहिले नेपालमै खरिद गरेर युरिया मलको प्रयोग गर्ने गरे पनि अहिले भने त्यस्तो अवस्था नरहेको दाबी गर्छन् । ‘नेपालमा युरिया खरिद गर्न सहज छैन, त्यसैले धेरै उद्योगहरूले अचेल भारतबाटै रेक्जिन ल्याउँछन्’ घिमिरेको भनाइ छ । उनका अनुसार पूर्वतिरका उद्योगहरूको तुलनामा नेपालको पश्चिम क्षेत्रका प्लाइउड उद्योगहरूले युरिया प्रयोग गर्ने प्रचलन थियो, त्यो पनि अहिले निकै कम भएको छ । एसोसिएसनका अध्यक्ष प्रदीप चौधरीको भनाई पनि महासचिव घिमिरेको जस्तै छ । ‘पहिले पहिले त युरिया प्रयोग हुन्थ्यो । अहिले खासै हुँदैन । धेरै उद्योगहरूले आफूलाई चाहिने समान भारत र चीनबाट ल्याउँछन्’ चौधरीले भने ।

आफूलाई ‘युरिया मलको अन्तर्राष्ट्रिय खेलाडी’ भन्न रुचाउने मल खाद व्यवसायी सङ्घका अध्यक्ष ईश्वर डल्ला कोटीका अनुसार युरिया मल प्लाइउड फ्याक्ट्रीले मात्र होइन, टवाईलेट र बाथरुम सफा गर्न प्रयोग हुने हारपिक बनाउने उद्योगहरूले समेत राम्रैसगँ प्रयोग गर्छन् । त्यस्तै ठुला ठुला निर्माण सामाग्री उद्योगहरूले पनि युरिया मल प्रयोग गर्छन् । ‘तर, यो कुनै समाचार होइन । मलको हाहाकार भएको छ । यो चाही समाचार हो । लेख्ने भए यही कुरा लेख्नुस्, नभए प्लाइउड फ्याक्ट्री, हारपिक उद्योगहरूले अति थोरै युरिया प्रयोग गर्छन्, यस्ता स–साना समाचार किन लेख्नु ? नलेख्नुस्’ उनले भने । डल्ला कोटीका अनुसार लक डाउनका कारण गाउँ फर्किएर खेती गर्ने क्रम बढ्नु र भारतीय सीमाबाट मल आयात रोकिएकोले मलको हाहाकार भएको हो ।

घरेलु रक्सी बनाउन युरिया मलको प्रयोग

घरेलु रक्सी बनाउन विभिन्न अन्नहरूको प्रयोग गरिन्छ । ती अन्नहरूलाई छिटो कुहाउन युरिया मलको प्रयोग गरिने जानकारहरू बत्ताउँछन् । ‘घरेलु रक्सी उत्पादकहरूले पनि केही मात्रामा अनुदानको युरिया मलको प्रयोग गरिरहेका छन् भन्ने जानकारी हामीलाई छ । तर पनि केही गर्न सकिरहेका छैनौँ’ कृषि मन्त्रालयका एक अधिकारीले भने । उनकाअनुसार घरेलु रक्सी सेवनबाट मानिसहरूको मृत्यु हुनु पछाडिको एउटा कारण युरिया मल नै हो । छिटो रक्सी बनाउनको लागि युरिया मलको अलि बढी प्रयोग हुँदा त्यो विषाक्त हुने भएकोले त्यसबाट मानिसको मृत्यु हुने गरेको उनको भनाई छ । ‘यसै पनि युरिया मल खाने कुरा होइन, विभिन्न केमिकलहरू प्रयोग हुने भएकोले त्यो विषाक्त हुन्छ । त्यसमाथि अलि बढी प्रयोग भएपछि त मानिसको शरीरले धान्न सक्ने कुरै हुँदैन, अनि मृत्यु हुन पुग्छ’ उनी भन्छन् ।

रङ्ग उद्योगहरू र हारपिक कारखानाहरूले समेत युरिया मल प्रयोग गर्ने गरेको पाइए पनि त्यसबारेमा विस्तृत रूपमा अध्ययन गरी त्यसलाई नियन्त्रण गर्ने तर्फ अहिलेसम्म कतैबाट पनि पहल हुन सकेको छैन ।

एउटा वहसः युरियाको आवश्यकता कति ?

युरिया मलले धान लगायतका बली उत्पादनमा सघाउ पुग्छ भन्नेमा शङ्का छैन । तर, युरियाको नाममा नेपालमा हरेक वर्ष जति ‘खेल खेलिन्छ’ , के त्यो आवश्यक छ ? यसपालि युरिया मलको खरिदमा भएको ढिलासुस्ती र त्यसका बाबजुद धान उत्पादनमा भएको उल्लेख्य वृद्धिले यो प्रश्न जर्वजस्त रूपमा उठाइदिएको छ । यसै पनि नेपालको पहाडी क्षेत्रमा रासायनिक मलको प्रयोग निकै कम हुन्छ र पनि त्यो क्षेत्रमा त्यहाँको भौगोलिक अवस्था अनुसार धान उत्पादन राम्रै हुने गरेको छ ।

सरकारले हरेक वर्ष युरिया वा रासायनिक मल खरिद गर्न किसानलाई अर्वौँ रकम अनुदान दिने गरेको छ । र, भनिरहनु पर्ला त्यो रकमको ठुलो हिस्साले बिचौलियाहरूकै पोल्टामा पर्छ, वास्तविक किसानले निकै कम मात्र पाउँछन् । त्यही कारण रासायनिक मलको कुरा उठ्ने बित्तिकै मल माफिया, बिचौलिया र उनीहरूकै आड भरोसामा चल्ने सरकारी अधिकारीहरू पनि हरेक वर्ष मलको हाहाकार सृजना गराउन उद्धत रहेका छन् । समयमै खरिद सुरु नगरी अन्तिम समयमा बल्ल खरिद प्रक्रिया सुरु गर्ने र ‘हतार भयो, समय छैन’ भन्ने बहाना बनाएर रासायनिक मल खरिदमै वार्षिक अर्बाैको घोटाला गरिदैं आएको कुरा कतैबाट लुकेको छैन । त्यही कारण बर्सेनि ‘रासायनिक मलको चास्नी’ खेल्न पल्केका बिचौलिया र सरकारी अधिकारीहरूको समूह न त नेपालमा रासायनिक मल कारखाना खोल्न दिन्छ न त रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोगलाई बढाउन दिन्छ । उनीहरू केवल विदेशबाट रासायनिक मल खरिद गर्ने कुरा मात्र जोड दिइरहन्छन् ।

जब कुनै मन्त्री वा सरकारी अधिकारीले अर्ग्यानिक मलको प्रयोग गर्ने वा विदेशबाट आयात गरिने रासायनिक मलको विकल्प खोज्ने बारेमा बहस सुरु गर्छ, तब उ माथि सङ्गठित रूपमा आक्रमण सुरु गरिन्छ । मलमा दिइने अनुदानलाई व्यवस्थित गर्दै रासायनिक मल आयात होइन कि प्राङ्गारिक मलको उत्पादन बढाउनु पर्छ भनेर पैरवी गर्न थालेकै कारण पछिल्लो समय कृषि मन्त्री घनश्याम भुसाल विरुद्ध सृंंखलावद्ध रूपमा प्रहार सुरु गरिएको स्वयं मल व्यवसायीहरू नै बत्ताउँछन् । ‘रासायनिक मल आयात गर्दा हामीलाई भन्दा पनि बढी फाइदा, कृषि मन्त्रालयका अधिकारीहरूदेखि राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूलाई छ । त्यही कारण उनीहरू मल उद्योग खोल्ने र प्राङ्गारिक मल खोल्ने कुरै गर्दैनन् । तर, बदनाम चाही हामीहरू हुनु परिरहेको छ । सरकार यदि साँच्चै नै कृषि उत्पादन बढाउन चाहान्छन्, रासायनिक मलमा अर्बाै रकम अनुदान दिनुभन्दा प्राङगारिक मल उत्पादकहरूलाई २,४ करोड दिए भइहाल्छ नि । अर्वौँको रासायनिक मल खरिदबाट हुने फाइदा भन्दा २,४ करोडको प्राङ्गारिक मलमा गरिने लगानीले उत्पादन धेरै बढाउँछ भन्ने सबैलाई थाहा छ । तर, कोही पनि त्यसको लागि तयार छैन । किन ? यही प्रश्नको जवाफ खोज्नुस् न सबै कुरा छर्लङ्ग भइहाल्छ नि’ नाम उल्लेख गर्न नचाहने एक मल व्यापारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares