सामुदायिक घाँसखेतीले फस्टायो पशुपालन

सामुदायिक घाँसखेतीले फस्टायो पशुपालन

इटहरी : इटहरी उपमहानगरपालिकाको वडा नं १९ ब्रह्मपुरमा स्थानीय किसानले शुरु गरेको सामुदायिक घाँसखेतीले गाउँमा पशुपालन फस्टाएको छ । ब्रह्मपुर सामुदायिक वनको छेउमा रहेका २९ घरपरिवारले पशुपालनका लागि जङ्गलभित्रै उन्नत जातको घाँस रोपेका छन् । उनीहरुले घाँसखेतीको सामुदायिकरूपमा हेरचाह र उपभोग गर्दै आएका छन् ।

गाईफार्म सञ्चालन गरिरहेका स्थानीयवासी दीपक रायमाझीका अनुसार ब्रह्मपुरवासीको मुख्य आयस्रोत नै पशुपालन हो । यहाँ गाई, भैँसी र बाख्रापालन फस्टाएको छ । गाउँमा करिब दुई हजार खसीबाख्रा र सयौँ गाईभैँसी पालिएका छन् ।

घाँसका लागि खेतीबारी नभएपछि रायमाझीले नै दुई वर्षअघि ब्रह्मपुरका बासिन्दालाई सङ्गठित गरेर जङ्गलभित्र घाँस रोप्ने योजना अघि बढाए । उनको त्यही योजना अहिले नमूना बनेको छ । गाउँलेले ब्रह्मपुर घाँस विकास स्रोत केन्द्र नामक संस्था स्थापना गरेका छन् भने केन्द्रको सञ्चालक समितिको अध्यक्ष उनलाई नै चयन गरिएको छ ।

सामुदायिक वन समितिसँग पाँच बिघा जग्गा निःशुल्क मागेर केन्द्रले १३ जातको कोसे, अकोसे र डाँले घाँस हुर्काएका छन् । हरेक सदस्यलाई दुई कठ्ठादेखि सात कठ्ठासम्म जमिन केन्द्रले उपलब्ध गराएको छ । त्यहाँ उन्नत जातको घाँस रोप्न लगाइएको छ । घाँसखेतीमा स्टाइलो, मेन्दुला, भटमासे, ज्वाइन्टभेज, बदामे, इन्दुलगायतका कोसे घाँसबाली र मलोसेस, सुपर नेपियर, मुलाटो, सुम्बा सेटेरियालगायतका अकोसे घाँसबाली हुर्काइएको छ । हिउँदमा जैघाँस, भेज, चावली, बर्सिमलगायतका घाँस रोप्ने गरिएको छ ।

सामुदायिकरूपमा हेरचाह र लगानी गर्न लगाइए पनि उपभोग आफ्नै मर्जीले गर्न पाइने भएकाले सदस्यहरु घाँसखेतीमा मरिमेटेर लागेका छन् । हरेक दिन ५० भारीभन्दा बढी घाँस जङ्गलबाट घर ल्याइने गरेको छ । ब्रह्मपुरका अधिकांश बासिन्दा एक कठ्ठादेखि तीन कठ्ठा जग्गामा घरगोठ बनाएर बस्दै आएका र जीविकोपार्जनका लागि पशुपालन नै उनीहरुको मुख्य पेशा भएको ब्रह्मपुर घाँस विकास स्रोत केन्द्रका सदस्य दिलबहादुर न्यौपानेले बताए ।

“गाई, भैँसी र बाख्रा नपाली परिवार पाल्न सकिने अवस्था छैन”, दुई दर्जन खसीबाख्रा र एक माउ भैँसी पाल्नुभएका न्यौपानेले भने, “घर बनाउने जग्गा नै थोरै भएका बेला जङ्गलको घाँसखेती हामीलाई बरदान भएको छ ।”

आफ्नो चक्लाको घाँस अर्कोले चोरी नगरोस् भनेर संस्थाले जरिवानाको व्यवस्थासमेत गरेको छ । केन्द्रका सदस्य राजु चौधरीका अनुसार पहिलोपटक अर्काको घाँस चोरी गरेको फेला परे सम्झाइबुझाई गरिने र दोस्रोपटकमा रु ५०० जरिवाना तिराइने नियम लागू गरिएको छ । तेस्रोपटक र त्यसभन्दा बढी जतिपटक घाँस चोरी हुन्छ, त्यति नै दोब्बर जरिवाना असुल गरिने त्यहाँको नियम छ ।

पशुपालनका लागि जङ्गलको सामुदायिक घाँसखेती बरदान सावित भएता पनि पशुपालक किसानलाई आधुनिक तालिम र अनुदानको भने खाँचो छ । घाँसखेती गरिएको स्थान जङ्गलभित्र रहेको हुँदा त्यहाँ घेराबेरा र सिँचाइ सुविधासमेत आवश्यक रहेको बताइन्छ । “उपमहानगरपालिकाले शुरुमा घाँसको उन्नत बीउ दिएको थियो”, अध्यक्ष रायमाझीले भने, “हाम्रो समृद्धि भनेको यही पशुपालन हो, स्थानीय सरकारले सिँचाइ, घेराबेरा र अनुदानको व्यवस्था गरिदिन्छ कि भन्ने आशामा छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares