मौरीपालन व्यवसायतर्फ किसान आकर्षित

मौरीपालन व्यवसायतर्फ किसान आकर्षित

वालिङ : घरमै बसेर सहजरुपमा कम मिहिनेत गरी अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ स्याङ्जाका किसानको आकर्षण बढ्न थालेको छ । कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यो व्यवसाय गर्नेहरुको सङ्ख्या बढ्दै गएको हो । जिल्लाको ११ वटै पालिकामा मौरीसहितको घार राखेर मह बिक्री गर्ने व्यवसायिक किसानको सङ्ख्या उल्लेखनीय रहेको नेपाल मौरीपालन महासङ्घका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद अर्यालले बताए । “मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढेको छ”, उनले भने, “सरकारले किसानका लागि आवश्यक तालिमका साथै कृषि औजार उपलब्ध गराउनु पर्दछ ।” राज्यले होचुवाका भरमा मौरीसहितको गोला वितरण गरेको पनि उनको गुनासो छ ।

विशेष गरी स्याङ्जामा स्थानीय सेरेना जातको मौरीपालन हुने गरेको छ । मौरीसहितको घार तथा महको माग अत्याधिक रहेको उपाध्यक्ष अर्यालको भनाइ छ । आफ्नै घरमा मौरीपालन गरेका वालिङ– ११ किसान अर्यालले यो व्यवसायबाट वर्षमा रू आठ÷दश लाखसम्म कमाउन गारो नहुने बताए । १७ वर्ष अघि ‘आँधीखोला मौरीपालन उद्योग तथा तालीम केन्द्र’ दर्ता गरी मौरीपालन व्यवसाय शुरु गरेका अर्याल मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बिक्री गर्दै आएका छन । रु. ९÷१० हजारमा मौरीसहितको गोला घार बिक्री गर्ने अर्याल यो व्यवसायबाट वार्षिक रु. चारदेखि पाँच लाखसम्म आम्दानी गर्छन । उनले आगामी कात्तिक महिनासम्म ५०÷६० मौरी गोलासहित घार बिक्रीका लागि तयारी अवस्थामा राख्नुभएको बताए ।

जति मह उत्पादन गर्न सकेपनि खपत हुने भएकाले यो व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको मौरीपालक किसानको भनाइ छ । मौरीपालन व्यवसायबाट वार्षिक रु. बीस लाख आम्दानी गर्दै आउनुभएका भीरकोट–७ चिउरीखर्कका रत्नबहादुर गुरुङले कम मिहिनेत गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको बताए । झण्डै १७ वर्ष अघि मुढे र खोपे गरी दुई वटा मौरीका घारबाट उनले शुरु गरेको व्यवसाय हाल स्याङ्जा जिल्लाकै नमूना फार्मको रुपमा विकसित भएको छ । ‘चिउरीखर्क मौरी फार्म एवं घार उद्योग’ दर्ता गरी व्यवसाय थालेका गुरुङले महका लागि भन्दा पनि मौरीसहितको गोलाघार बिक्रीलाई प्राथमिकता दिने गरेको बताए ।

“शुरुका दिनमा मह बिक्री गर्थें, अहिले थोरै मह र धेरै मौरीसहितको घार बिक्री गर्दै आएको छु”, उनले भने, “पछिल्लो समय मौरीपालनलाई व्यवसायिकरुपमा अगाडि बढाउनेको सङ्ख्या जिल्लामा बढ्दै गएकाले मौरी गोलासहितको घारको माग पनि बढ्दै गएको छ ।” मौरीको गोलासहितको घार वार्षिक १८० देखि २२० वटासम्म बिक्री हुने गरेको छ । मह प्रतिकेजी रु. एकहजार २०० र मौरीसहितको गोला प्रति घार रु. नौ हजारका दरले बिक्री गर्दै आएको उनको भनाइ छ । “गण्डकी प्रदेश सरकार तथा जिल्लाका विभिन्न पालिकाहरुले मौरी पकेट कार्यक्रमअन्तर्गत अनुदानमा मौरीको गोलासहितको घार किसानलाई उपलब्ध गराउन थालेसँगै यसको मागमा पनि वृद्धि हुँदै गएको छ”, किसान गुरुङले भने, “गतवर्ष २२० वटा मौरीको गोलासहितको घार बिक्री गरेको थिएँ, यो वर्ष पनि माग अत्याधिक रहेकाले भ्याइनभ्याइ छ ।” स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका गुरुङले मौरीसहितको गोला घार र मह बिक्रीबाट वार्षिक रु. अठारदेखि बीस लाख आम्दानी गर्दै आएका छन । मौरीपालन गर्न चाहने इच्छुक किसानलाई यससम्बन्धि आवश्यक परामर्श र व्यवसायिक अनुभवहरु साट्ने गरेको उनको भनाइ छ ।

गल्याङ नगरपालिका–८ करादीका किसान गणेश अधिकारीलाई पनि मौरीको गोलासहितको घार माग अनुसार पु¥याउन भ्याइनभ्याइ छ । १३ वर्ष अघि मौरीपालन शुरु गर्नुभएका अधिकारीले २०७२ सालमा ‘श्रीगणेश मौरी अध्ययन केन्द्र’ नामक फार्म दर्ता गरी व्यवसायिक रुपमा यो व्यवसाय अगाडि बढाएका हुन । “गतवर्ष १०० मौरी गोलासहितको घार बिक्री गरेको हुँ”, उनले भने, “यो वर्ष २५० मौरी गोलासहितको घार बिक्री गर्ने तयारी गरेको छु” । मह तथा मौरीको घार उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ छ । मौरी लक्षित कृषि प्रणालीलाई सँगसँगै अगाडि बढाएकाले मौरीपालनमा थप सफलता मिलेको अनुभव किसान अधिकारीसँग छ । उनले मौरीपालन ब्यवसायबाट सबै खर्च कटाएर वार्षिक पाँचदेखि छ लाख आम्दानी गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares