व्यावसायिक बन्दै परम्परागत ज्ञान, बदिया भालेको व्यवसाय विस्तार

व्यावसायिक बन्दै परम्परागत ज्ञान, बदिया भालेको व्यवसाय विस्तार

दाङ/दमौली : परम्परागत ज्ञानलाई सामान्य मूल्य अभिवृद्धि गरी बजारीकरण गर्नसके त्यो आम्दानीको राम्रो र भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण दाङमा कुखुराको भालेको बन्ध्याकरण बनेको छ ।

दाङका थारू समुदायमा भालेलाई बदिया बनाउने रैथाने ज्ञान र सीप पुस्तान्तरण हुँदै आएको छ । त्यसलाई केही थारूले व्यावसायिकता प्रदान गर्दा देशभरकै मुख्य सहरमा बजारीकरण भएको छ । त्यति मात्र नभई उक्त व्यवसाय अन्यत्र पनि विस्तार हुन थालेको छ ।

दाङको घोराही–१३ का हर्कबहादुर चौधरीले बास्न सुरु गरेको स्थानीय कुखुराको भालेलाई बन्ध्याकरण गरेर (खसी पारेर) नै राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

उहाँका अनुसार त्यो कार्य सरल छ । सामान्य चिरफारबाट भालेको अण्डकोष निकालेर फ्याली बदिया बनाइन्छ । थारू भाषामा खसी पार्ने भनेको बदिया हो ।

उहाँले भन्नुभयो, “चिरेको घाउ नपाकोस् भनेर बेसार लगाउनुपर्छ । १५ दिनपछि घाउ पुरिन्छ । त्यसरी तयार भएको बदिया भाले चारदेखि छ महिनासम्म बेच्नका लागि ठीक हुन्छ ।”

बदियाको मासु स्वादिष्ट हुने भएकाले यसको माग राजधानी काठमाडौँलगायत देशैभरका ठूला सहरमा हुने गरेको उहाँले बताउनुभयो । काठमाडौँ, पोखरा, धनगढी, वीरगञ्जलगायतका सहरमा बदिया भाले पठाउँदै आउनुभएका व्यवसायी चौधरीले मागअनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो ।

मासिक ७० हजार आम्दानी

१० वर्षदेखि बदिया भालेपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका चौधरीले सबै खर्च कटाएर मासिक ७० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुभयो । उत्पादन भए जति सबै भाले सजिलै बिक्री हुने गरेका छन् । बरु माग धान्नै गाह्रो छ, व्यवसायी चौधरीले भन्नुभयो, “मासिक ७० हजारसम्म आम्दानी हुन्छ । यही व्यवसायले पारिवारिक लालनपालन गर्न सजिलो भएको छ ।”

दङाली पोल्ट्री फार्मको नामबाट व्यवसाय सञ्चालन गर्दै आउनुभएका चौधरीले वार्षिक पाँच सयभन्दा धेरै बदिया भाले बेच्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बदिया बनाएर भाले छ महिना पालेपछि तीन हजार रुपियाँभन्दा बढीमा सजिलै बिक्री हुन्छ । ग्राहक घरमै आएर पनि किनेर लैजान्छन् । सामान्यतः प्रतिकिलो छ सयदेखि सात सय रुपियाँ पर्ने स्थानीय भाले बदिया बनाएपछि भने सजिलै प्रतिगोटा तीन हजार रुपियाँभन्दा धेरैमा बिक्री हुन्छ ।

नौ लाख रुपियाँको लागतमा व्यवसाय सुरु गरेका चौधरीले फार्ममा हाल १५ लाख लगानी भइसकेको जानकारी दिनुभयो । हाम्रा पुर्खाको पालादेखि चल्दै आएको रैथाने बदिया भाले बनाउने सीपको महŒव बुझेपछि त्यसलाई व्यावसायिक रूप दिएको हुँ, व्यवसायी चौधरीले भन्नुभयो ।

गैरथारू पनि व्यवसायमा

यो सीप थारू समुदायमा मात्र सीमित रहेको छैन । घोराही–१४ का अर्जुन कुँवरको आम्दानीको आकर्षक माध्यम पनि बदिया भालेपालन व्यवसाय नै बन्दै आएको छ । दुई वर्षदेखि बदिया पाल्दै आउनुभएका कुँवरले वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । नेपालका विभिन्न स्थानमा बदिया पठाउने गरेको उहाँले पनि मागअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो । बदियासँगै लौकाट, कडकनाथ, कोलिस र फाइटर जातका कुखुरा, बट्टाई र लुइँचे चरा बिक्री गर्दै आएका कुँवरले व्यवसायमा २० लाख लगानी भइसकेको जानकारी दिनुभयो ।

दाङका २४ भन्दा बढी व्यवसायीले बदियापालन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । व्यवसायीले बदिया बनाउने रैथाने सीपलाई व्यावसायिक रूपमा परिणत गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले बताउनुभयो ।

बन्दीपुरमा परीक्षण

तनहुँमा बदिया भालेको व्यावसायिक पालन गर्नका लागि यहाँ परीक्षण गरिएको छ । बन्दीपुर गाउँपालिका–५ का युवा कृषक काशीनाथ भट्टराईले आफूले पालेको भालेमा त्यसको परीक्षण गर्नुभएको छ । बन्दीपुर गाउँपालिकाका दुई जना पशुपक्षी प्राविधिकले कृषक भट्टराईको घरमै गएर दुईवटा भालेको बन्ध्याकरण गर्नुभएको हो ।

सुरुमा यसबारे सुन्दा आफूलाई पनि अचम्म लागेको भन्दै कृषक भट्टराईले दाङका केही कृषकसँग टेलिफोनमा कुरा गरेपछि आफूले पालेका भालेमा त्यो प्रविधिको प्रयोग गर्नुभएको हो । खोरमा धेरै नै कुखुरा भए पनि पहिलोपटक दुईवटा कुखुरामा बन्ध्याकरण गराइएको कृषक भट्टराईले बताउनुभयो ।

बन्दीपुर गाउँपालकाका पशु शाखाका प्रमुख पशु प्राविधिक मधुविलास न्यौपानेले तनहँुमा यो प्रयोग पहिलोपटक आफूहरूले सुरु गरेको बताउनुभयो ।कृषकको घरमा बन्ध्याकरणको सेवा दिनुअघि न्यौपानेले पनि केही दिनअघि आफ्नै घरमा पालेको दुईवटा भालेमा त्यो प्रयोग गरेको बताउनुभयो । उक्त प्रयोग सफल भएपछि कृषकको घरमा उक्त सेवा दिएको उहाँले बताउनुभयो ।

पशु प्राविधिक न्यौपानेका अनुसार भालेको बन्ध्याकरणपछि अन्य भालेभन्दा छिटो बढ्ने, तौल धेरै हुने, मासु मीठो हुने तथा पोथीको खोजीमा अन्यत्र डुल्ने चरुवा भाले हराउने डर पनि हुँदैन ।

भाले बासेको एक÷डेढ महिनामा बन्ध्याकरण गर्न सकिने अर्का पशु प्राविधिक सन्तोषसिंह ठकुरीले बताउनुभयो । व्यावसायिक रूपमा लोकल कुखुरा पाल्ने कृषकले भालेको बन्ध्याकरण गरेमा त्यसले राम्रो आम्दानी दिनसक्ने ठकुरीले बताउनुभयो । गाेरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares