सुक्न थालेपछि धान काटेर भैंसीलाई

सुक्न थालेपछि धान काटेर भैंसीलाई

काठमाडाैं : नरैनापुर गाउँपालिका–५ मटैयाका करियाती धोबीले असारमा रोपेका धानमा यतिबेला बाला लागिसक्नुपर्ने थियो । तर यस वर्ष उनलाई प्रकृतिले साथ दिएन । पानीको अभावमा बाला लाग्न नपाउँदै खेतमै धान सुक्न थाल्यो । अहिले उनले त्यही धान काटेर भैंसीलाई घाँस बनाउँदै आएका छन् ।

एकातिर कोरोनाले भारत गएर रोगजारी गर्ने अवसर गुमेको छ । अर्कोतिर गाउँमै गरिखाने थलो कतै छैन । बल्लतल्ल लगाएको धान पनि खेतमै सुकेपछि उनी निराश छन् । ससाना छोराछोरी र नातिनातिनासहित १० जनाको संयुक्त परिवार पाल्नुपर्ने बाध्यताले उनलाई झनै पिरलो पारेको छ । २० कट्ठा खेतमा धान लगाउँदा गत वर्ष १३ क्विन्टल धान उत्पादन भएको उनले सम्झिए । ‘परिवार ठूलो छ, पुरानो धान सबै खाएर सकियो,’ उनले भने, ‘यस वर्ष धान भित्रिनै मुस्किल छ ।’ २० कट्ठा खेतमा लगाएको सबै धान बाला नलाउँदै सुकेको उनले गुनासो गरे ।

नरैनापुर गाउँपालिकाको मटैया गाउँमा झन्डै १५ हजार किसान खेती गर्छन् । यीमध्ये आधाजसोको खेती सिँचाइ अभावले सुक्खा परेको स्थानीय किसान बताउँछन् । ६५ वर्षे किसान कृपाराम धोबीले २४ कट्ठा खेतमा धान रोपेका थिए । रोपाइँमा मल नपाएर भौंतारिनुको पीडा नभुल्दै दुई महिनायता पानीको अभावमा बाली नष्ट भएको उनले सुनाए । राप्ती नदी छेउमा केही खेतीयोग्य जमिन थियो उनको । बाढीले बगर बनाएपछि उत्पादनको एउटै थलो २४ कट्ठा जमिन थियो । नरैनापुरको उचाइमा पर्ने यो क्षेत्रमा आएर बस्नुको कारण वर्षात्मा डुबानबाट जोगिनु भएको उनले सुनाए । डुबानदेखि जोगिए पनि खेती भने सुक्खा हुँदा यहाँका किसान चिन्तित छन् । एक वर्षअघि किनेको बोरिङ बिग्रिएकाले मर्मत गर्न नसकिएको उनले जानकारी दिए ।

चार कट्ठा खेतमा धान लगाएकी कुस्मा धोबीको आयआर्जनको विकल्प छैन । खेताला र जोत्दा ३० हजार रुपैयाँ लगानी गरेकी उनले उत्पादनमा हात लाग्यो शून्य जस्तै भएको बताइन् । आकाशे पानीको भर पर्दा किसानले अन्न उत्पादनमा धोका खानुपरेको उनको भनाइ छ । गत वर्ष तारावती धोबीले धान बेचेर घर खर्च चलाएकी थिइन् । चार कट्ठा खेतमा राम्रै धान फलेको थियो । भदौसम्मै प्रशस्त पानी परेकाले सिँचाइमा समस्या थिएन । यस पटक सोचेजस्तो पानी नपरेको उनले बताइन् । ‘खासै बर्खा लागेन यसपालि,’ उनले भनिन्, ‘धान नफुल्दै सुक्यो ।’

नरैनापुर गाउँपालिका कृषिको उर्वर क्षेत्र मानिन्छ । यद्यपि राप्ती नदीको छेउछाउ पर्ने खेतीयोग्य जमिन बाढीले बगर बनेका छन् । उचाइ भएका ठाउँमा पानी टिक्दैन । मोतीपुर, मटैया, कालिमाटियालगायत गाउँमा सिँचाइ अभाव रहेको नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले बताए । ‘कतिपय किसानका घरमा बोरिङ छैन,’ उनले भने, ‘भएकाहरूले चलाउन जान्दैनन् ।’ गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले किसानले बेलैमा शाखालाई समस्या बताएको भए सिँचाइको व्यवस्था गर्न सकिने सुनाए । ‘किसान मौन बसिदिन्छन्,’ उनले भने, ‘समस्या आइपरेपछि समाधान खोज्न गाह्रो पर्छ ।’ कान्तिपुर दैनिकमा मधु शाहीले खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares