असार १५को महिमाः डान्सबारकी नर्तकीको मुस्कान र हाकिम सा‘बको सम्पत्ति

असार १५को महिमाः डान्सबारकी नर्तकीको मुस्कान र हाकिम सा‘बको सम्पत्ति

आज विहानै कृषि मन्त्रालयका एक जना हाकिमलाई फोन गरेर भने-सर आज डान्स बारमा कति बेला भेट्ने ?

सांझपख भनिएको भए शायद अलमलिने थिएनन, तर एकाविहानै डान्स बारमा भेट्ने प्रस्तावले उनी अलमलिनु स्वभाविक थियो । मैले नअलमलिइकन भने- डान्सबारको स्टेज र किसानको खेत ठाक्कै एउटै कुरा हुन् सर । त्यसमाथि डान्स बारकी नर्तकी र किसान त झन् जुम्लाहा हुन् । उनीहरुको जन्म, राशि, नाम-थर-वतन मात्र होइन, विगत, वर्तमान र भविश्य सबैकुरा काटीकुटी मिल्छ । त्यसैले असार १५ मनाउनु भनेको डान्स बारकी नर्तकीको जन्मदिन मनाउनु हो ।

हुन पनि तपाईहरु मध्ये कतिजना डान्सबार जानु भएको छ वा त्यहां अर्धनग्न भएर नृत्य गर्ने नर्तकीसंग हेलमेल गर्नु भएको छ ? यदि छ भने थाहा हुन्छ—असार १५ र त्यंहाकी नर्तकीको विगत, वर्तमान र भविश्यको नियति ठाक्कै मेल खान्छ । जसरी नर्तकीहरु स्टेजमा गएर शुरु गर्नु अगाडि ‘राम्रो फर्ममेन्स’ दिएर ग्राहक रिझाउने र भविश्य सुन्दर बनाउने अनेक रोचक कल्पना गर्छन् । मनभित्रका पिर व्यथाहरुलाई दवाएर क्रिम पाउडरले टल्काएका अनुहारसहित ‘मिठो मुस्कान’सहित ग्राहकसंग लुटपुटिन्छन् । ‘भिआईपी ग्राहक’को लागि ती नर्तकीको वास्तविक जीवनको कुनै मूल्य हुंदैन, उसको लागि त नर्तकी फगत ‘रोमान्स’का माध्यम मात्रै हुन् । नर्तकीको अगाडि उसको रुपको प्रशंसा गरेर नथाक्ने ग्राहकले आफ्नो कुनै परिवारका चेलिवेटीहरुलाई त्योरुपमा देख्ने कल्पना पनि गर्न सक्दैन ।

किसानको नियति पनि तिनै डान्सवारका नर्तकीहरु जस्तै छ । जस्ले मानो रोपेर मुरी फलाउने र जीवन सुखमय बनाउने कल्पना गर्दै असार १५ मनाउंछ वा धान रोप्छ । भनिरहनु नपर्ला असार १५मा किसानको खेतमा गएर तमासा देखाउने राजनीतिक, प्रशासनिक नेतृत्व (साथसाथै समासेवा हौं भन्नेहरु पनि) डान्सबारका तिनै ग्राहक नै हुन्, जो एकछिनको रमाइलोको लागि नर्तकीलाई आफ्नो काखमा राखेर उसको शरिर सुमसुम्याउंछ । उसको रुपको प्रशंसा गर्दै यत्रतत्र चुम्छ । डान्स बारबाट निस्किएपछि नर्तकीसंग बाटोमा कतै जम्काभेट भैहाल्यो भने पनि तर्किएर हिड्छ ।

असार १५ र हाम्रो राजनीतिक, प्रशासनिक तथा सामाजिक नेतृत्वको हैसियत डान्सबारका ग्राहकको भन्दा माथिल्लो तहको हुनै सकेन । उनीहरु असार १५मा खेतमा गएर रमाइलो त गर्छन्, त्यहांबाट निस्किएपछि कतै हिलो लागि हाल्छ कि भनेर तर्सिन्छन् । मल पाउन नसकेर रोइरहेका किसान, किरा नियन्त्रण गर्न नसकेर बाली सखाप भएका किसानको आंशु, उत्पादित वस्तु बेच्न नसकेर खेत बारीमै गाडेका वा गाई भैंसीलाई खुवाउनु पर्दा छटपटाएका किसानको आंशु त तिनको लागि डान्स बारमा पोखिएका रक्सीका थोपाहरु भन्दा मूल्यहीन ।

किसानले असार १५ अघि भोगेका वा पछि भोग्ने पिडाको बारेमा तपाईले एक्कैछिन घोतलिनु भयो भने थाहा पाउनुहुनेछ- महासय ! तपाईले असार १५ मा खेतमा गएर ‘रोमान्स’ गरेको जस्तो ‘रंगिन जीवन’ छैन किसानको । तपाईको लागि असार १५ ‘रोमान्स’को दिन हो । किसानको लागि त ‘नियमित आकस्मिता’ मात्रै हो । असार १५मा देखिने किसानको अनुहारको मुस्कान त डान्सबारकी नर्तकीको मुस्कान जस्तै हो-क्षणिक । दीगो त तिनीहरुको आंशु र पीडा हो ।

धेरैलाई ‘हजम’ नहुन सक्छ, तर वास्तविकता के हो भने डान्स बारका ग्राहकहरुमा त एउटा निश्चित नैतिकता वा इमान्दारिता रहन्छ । उनीहरुले नर्तकीको नांच मन पराए भने मन फुकाएर टिप्स दिन्छन् र त्यसमा कुनै कमिसन खोज्दैनन् । त्यहीकारण धेरै नर्तकीहरुले आर्थिकरुपमा राम्रै प्रगति पनि गरेका छन् ।

पक्कै पनि सबै त्यस्ता छैनन्, तर हाम्रो प्रशासनिक, राजनीतिक र सामाजिक नेतृत्वकर्ताहरुमा डान्सबारको ग्राहकमा जत्तिको पनि इमान्दारिता छैन । यदि त्यस्तो इमान्दारिता हुन्थ्यो भने-किसानलाई दिन्छु भनेर छुट्याइएका अनुदानका रकमहरु सिधै उनीहरुलाई दिने थिए । अनुदान भनेको सरकारले किसानलाई दिने ‘टिप्स’ नै हो । त्यसमा पनि कमिसनको हिस्सा खोज्नु जत्तिको लिच्चड, भ्रष्ट प्रवृत्ति के होला ?

यदि त्यस्तो नहुंदो त धान खेती गर्ने किसानहरु जहिले पनि रुनु पर्ने र धानको लागि अनुदानको ‘खेती गर्ने’ हाकिमहरु जहिले पनि मस्तिमा हुने अवस्था सृजना हुने थिएन । ‘व्यवसायिक कृषि’ गर्नेहरु आर्थिकरुपमा टाट पल्टिने र सिमित मात्रामा मासिक तलव भत्ता बुझेर जीवन निर्वाह गर्ने ‘हाकिम साब’हरु अनगिन्ति सम्पत्तिका मालिक हुने अवस्था आउने थिएन ।

असार १५ को रोमान्चकताको वर्णन गर्नेहरुले व्यवसायिक किसानको विचल्ली र अनुदानको ‘व्यवसाय’ गर्नेहरुको आर्थिक हैसियतको तुलना गर्नु पर्दैन ? सांच्चै भन्नुपर्दा असार १५ धान रोप्ने भन्दा बढी, किसानको नाममा ‘सुकिला मुकिलाहरु’ले रमाइलो गर्ने दिन हो । (किसान र कृषि उद्यमीप्रति व्ंयंग्य गर्ने दिन हो) किसानले त दही च्यूरा सधै खाइरहेकै हुन्छन् । तिनीहरुको लागि त्यो कुनै विशेष कुरै होइन । न्यूजील्याण्ड र फिनल्याण्डबाट आउने सलादसंग थाइल्याण्डको माछा, अर्जेण्टिनाको मरमसलामा भुटेर, क्युवाको सिगार तान्दै ड्युटी फ्रिको स्कच पिउनेहरुको लागि हो-असार १५ को मज्जा । ‘नेपाली चिउरा त कडा हुन्छ, पतन्जलीकै चिउरा नभए त खान सक्दिन’ भन्नेहरुको लागि हो -असार १५ को मज्जा ।

अझ स्पष्ट रुपमा भन्नु पर्दा भात खानेहरुको लागि होइन ‘भुजा ज्यूनार’ गर्नेहरुको लागि हो असार १५ को मज्जा ।

‘हलो देखि हाइड्रोसम्म’
यो एउटा वैंकको मुख्य नारा हो । त्यो बैंकका एक उच्च अधिकारीलाई मैले गत वर्ष भनेको थिएं-नेपालको अदालतमा त कुन्नी, मैले सकेमा अन्तराष्ट्रिय अदालतमा त कुनै न दिन तपाईहरुलाई मुद्धा हाल्छु म । हलो देखि हाइड्रो भन्नुको अर्थ मुख्य लगानी हलो अर्थात कृषिमा गर्छाैं भन्ने हो । ल भन्नुस कृषि क्षेत्रमा कति लगानी छ ? जब लगानी गर्नै छैन भने हलोलाई मुख्य नारा किन बनाइयो ? किसानको दुखि अनुहार खिचेर आफ्नो वैंकको मार्केटिङ गर्ने अधिकार कस्ले दियो ?

मेरो कुरा सुनेपछि विश्मयकासाथ उनले मलाई थुप्रै स्पष्टिकरण दिएकी थिइन । भनिरहनु नपर्ला ती स्पष्टिकरण फगत ‘तर्कको लागि तर्क’ मात्रै थिए, कुनै तथ्य थिएन । किनकी राष्ट्र वैंक र सरकारले भन्ने गरेको कूल कर्जा लगानीको १० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने नियम त्यो वैंकले मात्र होइन, अधिकांश वैंकहरुले धज्जी उडाएका छन् । (लेखकको जानकारीमा रहेसम्म दुईवटा विकास वैंकले मात्र त्यो नियम अनुसार कर्जा लगानी गरेका छन्)

तपाई कुनै डान्स पार्टी राख्छु भन्नुस, अरु कुनै रंगिला कार्यक्रमहरुको लागि प्रायोजन गर्न अनुरोध गर्नुस, वैंक तथा वित्तीय संस्थाहरु १० औं लाखको प्रायोजन गर्न सजिलै तयार हुन्छन् । त्यसमा केवल एउटै शर्त हुन्छ-‘प्राइम लोकेसन’मा व्यानर राखिदिनु पर्ने । त्यसवाहेक अरु कुनै शर्त हुंदैन । उद्यम गर्न ८,१० लाख कर्जा माग्नुस्, तपाईले धितो राखेर सुख पाउनु हुन्न, १ दर्जन शर्तहरु पालना गर्नु पर्छ । शर्तमाथि शर्त ।

अरु कुरा किन गर्ने ? असार १५ को उपलक्ष्यमा कसैले ‘दही च्युरा पार्टी’ राखोस् त वैंकहरुले तछाड मछाड गरेर प्रायोजन गर्छन् । तर, तपाईले ‘दही च्युरा पार्टी’ को सट्टा त्यति रकम धान खेतमा लगानी गर्छु भनेर प्रस्ताव गर्नुस् त कुन चांही वैंकले तपाईको प्रस्ताव स्विकार गर्छन् ? ‘दही च्युरा पार्टी’को लागि ‘प्राइम लोकेसन’मा व्यानर राखिदिए पुग्छ, धान खेतमा लगानी गर्ने प्रस्ताव लैजांदा ७ पुस्ते विवरण बुझाएर ५ जना साक्षी राख्दा पनि तपाईले सहजै कर्जा पाउनुहुन्न । अनि कुन्नी कति प्रतिशतमा सहुलियत दरको कृषि कर्जाको गफ गर्ने ? होर्डिङ बोर्ड झुण्ड्याउने ?

अनि भन्नुस ! असार १५ को महत्व गाउनुको कुनै अर्थ रहन्छ ? असार १५ कस्को पर्व ? धान खेती किसानको पर्व कि ‘दही च्यूरा पार्टी’ मा रमाउने ‘सुकिला मुकिला’हरुको पर्व ? ‘नेपालीहरु जस्तो पीडामा पनि हांस्न सक्छन’ भन्ने ‘लिंडे तर्क’ गर्नुे एउटा कुरा, होइन भने पर्व मनाउनु भनेको उन्मुक्त भएर, दुख पीडाहरु विर्सेर हो । के नेपाली किसान त्यसरी उन्मुक्त भएर, उत्साहका साथ असार १५ (अरु कुनै पर्व पनि) मनाउन सक्ने अवस्थामा छन् ?

यदि सांच्चै असार १५ लाई किसानको पर्व बनाउने हो भने त्यससंग जोडिएका पक्षहरुको विचार गर्नु पर्यो, धान खेती गर्ने किसानको आधारभूत समस्याहरु मल, बीउ, सिंचाई, प्रविधि, रोग किरा नियन्त्रणमा देखिएका समस्याहरु समाधान गर्नु पर्यो । अनि बल्ल असार १५ को सार्थकता रहन्छ, उत्पादन र उत्पादकत्व वृद्धि भएर देश आत्म निर्भरताको बाटोमा रहन्छ । अहिले जस्तो किसान रुदैं मनाइने असार १५ को मात्र होइन, साउन १५ लगायत कुनै पनि पर्वहरुको अर्थ छैन । त्यसैले अहिलेकै अवस्था रहने हो भने कृषि क्षेत्रमा लाग्ने सबैले एक दिन भन्नु पर्ने छ-असार १५ मुर्दावाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares