कृषि उद्यममा रमाएका वकिल

कृषि उद्यममा रमाएका वकिल

वकिल अर्थात् अधिवक्ताको काम के हो ? अदालतमा वहस गर्नु, झगडियाहरुसंग मिलेमतो गर्नु र सानो कुरालाई पनि ‘कानुनका नौ सिङ्ग’ समातेर डर लाग्दोसंग प्रस्तुत गर्नु ।

तर, सबैको हकमा त्यस्तो नहुन पनि सक्छ । समाजमा फरक खालका काम गरिरहेका पात्रहरु पनि हुन्छन् । नपत्याए विनोद लामिछानेलाई भेटे हुन्छ ।

काठमाण्डौको अनामनगरमा ल फर्म रहेका लामिछानेको अधिकांश समय अदालतमा होइन, सिन्धुपाल्चोकको हेलम्बु गाउंपालिका गैंटारमा वित्छ । किनकी त्यहां उहांको कृषि फार्म छ । ‘ल फार्म अरु पार्टनर साथीहरुले हेर्नुहुन्छ, कहिले कांही वहस गर्नु पर्दा म जान्छु । तर, मेरो धेरै समय भने सिन्धुपाल्चोकमै वित्छ’ लामिछाने भन्नुहुन्छ ।

विनोदले अध्ययनपछि युएसएआईडी, जेनेभा ग्लोवल लगायतका आइएनजिओहरुमा जागिर खानु भयो । त्यहीक्रममा कृषि तथा बनविश्व विद्यालयका विद्यार्थीहरुसंग एउटा प्रोजेक्टमा सहकार्य गर्नु पर्यो । उनीहरुसंगको छलफल, अन्तरकृया पछि विनोदलाई लाग्यो—जे सुकै पढेको भए पनि पढेको मान्छेले गर्नु पर्ने पेशा चांही कृषि नै हो । आर्थिकरुपमा प्रगति गर्न सकिने र देश तथा समाजको लागि सहजरुपमा योगदान दिन सकिने पेशा कृषि नै हो ।

त्यसपछि उहांको ध्यान आफ्नै गाउं हेलम्बुमा केन्द्रित भयो । अहिले लामिछानेले अत्याधुनिक किसिमको कृषि फार्म संचालन गरिरहनु भएको छ । साढे २ सय रोपनीमा कागती खेती गरिरहनु भएको छ । सिताके च्याउका पांच हजार मुढा छन् र त्यसलाई बढाएर ५० हजार मुढा पुर्याउने तयारीमा हुनुहुन्छ । सिताके च्याउको ल्याव पनि तयार भएर संचालनको तयारीमा छ । कन्ये च्याउ खेती त नियमित भैहाल्यो । २० रोपनीमा तरकारी खेती छ । १२ हजार लेयर्स कुखुरा पालिरहेकोमा केही समय रोकिएको थियो, फेरि त्यसलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ ।

विनोदले संचालन गरिरहेको ‘विग एग्रिकल्चर प्रा.ली’ कति वृहत छ भन्ने कुरा यसैले स्पष्ट हुन्छ । एउटा गजबको कुरा के छ भने यति ठूलो फार्ममा कोही पनि कर्मचारी, कामदार छैन ।

त्यसो भए फार्म कसरी चलिरहेको छ ?

२०७१ सालमा फार्म शुरु गर्दा केही कर्मचारीहरु नियुक्त गर्नुभयो । तर, त्यसबाट अपेक्षा गरिए अनुसारको काम भएन । त्यसमाथि गाउंका युवाहरुले ‘हामी पनि मिलेर काम गर्छाैं’ भन्दै अनुरोध गर्न थालेपछि विनोदको दिमागमा नयां सोंच आयो —फार्ममा काम गर्नै पर्ने शर्तसहित साझेदार बनाउने ।

त्यही अनुसार अहिले विनोदसहित १३ जना युवा ‘विग एग्रिकल्चर प्राली’का साझेदार हुन्, जो फार्ममा काम पनि गर्छन् । अर्थात् मालिक पनि उनीहरु नै हुन्, कामदार पनि उनीहरु नै हुन् । फार्म अध्यक्षको रुपमा समग्र नेतृत्व विनोद गर्नुहुन्छ । ‘विदेश जानको लागि मरिहत्ते गर्ने युवाहरु गाउंमै उत्पादन प्रकृयामा सामेल भैरहेका छन् । फार्मको मालिक बनेका छन्, फार्मको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन पनि भएको छ । स्थानीय युवाहरु भएकोले गाउंको विकास निर्माणदेखि हरेक कामहरुमा हाम्रो शसक्त उपस्थिति रहंदै आएको छ’ विनोद भन्नुहुन्छ ।

विनोदको त्यही अभियानबाट प्रभावित भएर प्रदेश ३ सरकारले पनि उहांसंग हातेमालो शुरु गरेको छ । ‘यो फार्ममा आएर घुमेपछि प्रभावित नहुने मान्छे छैन । सरकारी कर्मचारीहरु आएर ल तपाईलाई सहयोग गर्छाैं, अझ प्रभावकारी भएर काम गर्नुस् भनेपछि मैले उहांहरुको सहयोग स्विकार गरेर फार्मलाई अझ शसक्तरुपमा अगाडि बढाउने प्रयास गरिरहेको छु’ विनोद भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares