जंगल छेउमा हुर्किएको किसानको छोरा

जंगल छेउमा हुर्किएको किसानको छोरा

म नेपालको एउटा जंगली क्षेत्रमा रहेको गाउंमा हुर्किएको किसानको छोरो हुं । यो दक्षिण एसियामा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकै तराई क्षेत्रमा पर्छ ।

जंगलमै हुर्किएका कारण ‘द जंगल बुक’ (सन् २०१६मा प्रर्दशित विश्व प्रशिद्ध फिल्म)को फुच्चे जस्तै मैले जंगली वातावरणको स्वाद लिएको छु ।

विद्यार्थी भाइबहिनीहरुलाई म उपदेश दिन होइन, आफ्नो पचास वर्ष लामो जिन्दगीका भोगाइहरु तीन बूंदामा शेयर गर्दैछु । तिमीहरुमध्ये एकजनालाई मात्रै पनि मेरा अनुभवले थोरै हौसला र पे्ररणा जगाउन सक्यो भने म आफूलाई धन्य सम्झनेछु ।

म जहां जन्मिए, अहिले त्यो क्षेत्र एकसिंगे गैंडाका लागि विश्वप्रशिद्ध छ । त्यहीक्षेत्रमा सानो प्राथमिक विद्यालय थियो, जहां पढ्न कुनै सुविधा थिएन । घरमा विजुली थिएन । हामी लालटीनको मधुरो बत्तीमा पढेर परीक्षा पास गर्दथ्यौं । माध्यमिक तह पढ्ने सुविधा गाउंमा थिएन । यही कारण माध्यमिक शिक्षा पूरा गर्न हामी त्यही डरलाग्दो जंगल र नदी पार गरेर जानुपर्दथ्यो । स्कुल जांदा हामी धेरैपटक जंगली जनावरको आक्रमणमा पर्नबाट जोगिएका छौं । त्यो बेला त्यस क्षेत्रमा सञ्चारको कुनै सुविधा थिएन ।

मेरो बुवा हामीलाई सुरक्षित रुपमा विद्यालयसम्म पुगून् भनेर जंगलको बीचमा पर्ने खोलासम्म आउनु हुन्थ्यो र जंगली जनावरले केही गर्दैन भन्ने आश्वस्त भएपछि फर्कनु हुन्थ्यो । त्यो बेला अघिकांश आदिवासी किसानका छोराछोरी पढ्नुभन्दा अन्न उब्जाउनु महत्वपूर्ण ठान्थे । मेरा अभिभावक म पढेर विद्वान भएको हेर्न चाहनुहुन्थ्यो भन्ने बुझ्न मैले ढिला गरिन । फलस्वरुप मैले धेरै नै महेनत गरें । सायद यही कारण मैले संधै उच्च अंक ल्याएर परीक्षा पास गर्न थालें ।

आज पनि मलाई त्यो क्षेत्रमा निकै पढन्ते विद्यार्थीका रुपमा सम्झना गरिन्छ । जसले मेरो किशोर जीवन सार्थकरुपमा बित्यो भन्ने लागिरहन्छ । राम्रो पढेकै कारण म नेपाल सरकारको आंखामा परें । फलस्वरुप छात्रवृत्तिमा मैले रुस अर्थात् त्यति बेलाको सोभियत संघमा इन्जिनियरिङ् पढ्ने मौका पांए ।

त्यो जंगलमा डुलि हिंड्ने र कुनै सुविधा नभएको स्कुलमा पढेको तपाईंहरू जस्तै उमेरको त्यो केटो अहिले तपाईंका अघि उपस्थित भएर जिन्दगीका कथा सुनाइरहेको छ । सायद, मेरो बुवाले म धेरै माथि गएर प्रगति गरेको हेर्न चाहनुहुन्छ भन्ने कुरा समयमै बुझ्न नसकेको भए यो फड्को मार्न सम्भव थिएन । मलाई लाग्छ, तपाईंहरू सबैका अभिभावकको चाहना मेरो बुवाभन्दा फरक छैन । यहां तपाईंहरूका अभिभावक पनि उपस्थित हुनुहुन्छ । उहंँहरूको आंखामा ध्यान दिएर हेर्नु भयो भने ती आंखाले यी कुरा बताइरहेको पाउनुहुनेछ ।

पश्चिमको सबैभन्दा पुराना प्रशिद्ध पुस्तक इलियाड र ओडिसी हुन् । ती कथाहरूले पश्चिमा जीवन प्रभावित छ । इलियाड र ओडिसी जस्तै हाम्रो देशमा बच्चालाई सानैदेखि रामायण र महाभारतका कथा सुनाउने गरिन्छ । ५ हजार वर्षअघिदेखि प्रचलित ती कथाले धेरैको जीवनलाई प्रभावित पार्ने गरेको छ । मलाई पनि पारेको छ । ती मध्ये एउटा कथा सुनाएर मैले यहां दिन चाहेको सन्देश प्रस्ट पार्न चाहन्छु । यो त्यो बेलाको कथा हो, जुन बेला आजको जस्तो आधुनिक शिक्षा प्रणाली थिएन । गुरुहरू जंगलमा आश्रम बनाएर बस्थे । त्यही जंगलमा अभिभावकहरूले आफ्ना सन्तानलाई पढ्न पठाउंथे ।

एकपल्ट एकजना प्रशिद्ध गुरुले आफ्ना विद्यार्थीसंग आफूले सिकाएको धनुर्विद्याको परीक्षा लिन चाहे । एउटा गुरुले सबै विद्यार्थीलाई एउटै कौसल सिकाउने हुनाले उनीहरू सबै धनुर्विद्यामा उत्तिकै दक्ष थिए । तैपनि परीक्षा लिनका लागि एउटा अग्लो रुखको टुप्पामा एउटा मरेको चरालाई बाँधियो र त्यो चराको आंखामा निसाना लगाउन भनियो ।

यो उनीहरूका लागि कठिन परीक्षा थिएन किनभने उनीहरू सबै दक्ष निसानेवाज थिए । गुरुले पहिलो विद्यार्थीलाई आफ्नो हतियार लिएर अगाडि आउन अनुरोध गरे र भने, ‘तिमीले अहिले के देखिरहेका छौ ।’ विद्यार्थीले भन्यो, ‘गुरुवर, मैले तपाईंलाई, मेरा प्रतिस्पर्धीहरूलाई, त्यो रुख र रुखको चरालाई देखिरहेको छु ।’ यस्तो उत्तर दिएको विद्यार्थीलाई गुरुले परीक्षामा सामेल हुन दिएनन् । उनले भने, ‘तिमी परीक्षामा बस्न अयोग्य भयौ ।’ सबै विद्यार्थी छक्क परे ।

उनले अर्को विद्यार्थीलाई हतियारसहित अघि आउन अनुरोध गरे र सोधे, ‘भन, यो बेला तिमीले के देखिरहेका छौ ।’ अर्को विद्यार्थीले भन्यो, ‘गुरुवर मैले तपाईंलाई, रुखलाई र चरालाई देखिरहेको छु ।’ उनले उक्त विद्यार्थीलाई पनि परीक्षा दिन बञ्चित गरे र तेस्रो विद्यार्थीलाई बोलाए ।

उसलाई पनि त्यही प्रश्न गरे । तेस्रो विद्यार्थीले भन्यो, ‘मैले मेरो हातको धनुवाण र चरालाई देखिरहेको छु ।’ एउटै प्रश्नका भिन्न भिन्न उत्तर दिएका विद्यार्थीहरू फेल हुंदै गए । अन्त्यमा अर्जुन नाम गरेको विद्यार्थीलाई सोधे, ‘अर्जुन, तिमीले के देखिरहेका छौ ?’ अर्जुनले उत्तर दिए, ‘गुरुवर, मैले केवल चराको आंखा मात्र देखिरहेको छु । कारण मेरो अहिलेको लक्ष त्यही आंखा मात्र हो ।’ गुरुले उनलाई वाण हान्न लगाए । नभन्दै अर्ज‘नको वाण रुखको टुप्पोमा रहेको चराको आँखामै लाग्यो ।

त्यसपछि सबै विद्यार्थीलाई एकै ठाउं राखेर ती गुरुले भने, ‘तिमी जे गर्दैछौ, तिम्रो दृष्टि त्यही मात्रै हुनुपर्छ । चराको आंखामा निसाना लगाउनु पर्ने मान्छेले चराको आँखा बाहेक अरु देख्नु हुदैन । तिमीहरूलाई मैले यसकारण परीक्षाबाट बञ्चित गरें, किनभने तिमीहरूले चराको आंखा बाहेक अरु कुरा पनि देखिरहेका थियौ । यस्तो बेलामा तिम्रो निसाना चुक्न सक्थ्यो । निसाना चुकेको भए, सबैको अघि तिमीहरूको इज्जत गुम्न सक्थ्यो । यो कुरा यहां मात्र लागू हुंदैन, जीवनका सबै क्षेत्रमा लागू हुन्छ ।’

आज तपाईंहरूले जति पनि सफल मानिस देखिरहनु भएको छ, ती सबै व्यक्ति सफल हुनुमा त्यही चराको आंखामा वाण हान्न ठिकपरेर बसेका धनुर्धारी हुन् । तपाईं बिल गेट्सका कुरा गर्नुहोस् कि स्टिभ जब्स, ज्याकमा वा मार्क जुकरबर्गकै कुरा गर्न‘होस् । उनीहरूको मन र ध्यान आईटीमा थियो । त्यसमा उनीहरू यति दत्तचित्त भएर लागे कि उनीहरूले अरु केही देखेनन्, केवल आईटी मात्रै देखे ।

जवकी उनीहरू कलेज ड्रपआउट हुन् भन्ने तपाईंहरूलाई थाहै छ । तेस्रो बुंदामा आएपछि म फेरि आफ्नै कथातिर फर्कन्छु । मैले इन्जिनियरिङमा स्नातकोत्तर गर्दा गर्दै मलाई छात्रवृत्ति दिएर पढाइरहेको रुस राज्य नियन्त्रित अर्थ व्यवस्थालाई परित्याग गरेर खुला अर्थतन्त्रमा प्रवेश गर्यो । म इन्जिनियरिङमा पिएचडी गर्न चाहन्थें । तर पिएचडी गर्नुभन्दा त्यहां फस्टाउन सक्ने नयां अवसरलाई छोपेर व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो ।

नभन्दै नयां अवसरलाई छोप्दै सुरु गरेको व्यापार सफल भयो । आज इन्जिनियरिङ भन्दा राम्रो आम्दानी गर्ने व्यवसायी भएको छु । यो कुरा भन्नुको आसय के मात्रै हो भने उचित समयमा उचित निर्णय लिने हो भने अवसरहरूले हामीलाई पर्खिरहेको हुंदारहेछन् ।

केवल चिन्न सक्ने हुनुपर्छ । आजका युवालाई आईटीले ठूलो अवसर प्रदान गरिरहेको छ । यसका लागि ठूलो पूंजी पनि चाहिंदैन, केवल सिर्जनशीलता, दक्षता र दृढ निश्चय भए पुग्छ । विभिन्न अवसरहरूले तपाईंलाई कुरिरहेको छ । यो केवल सिद्धान्तको कुरा होइन, मेरो अनुभवले प्रमाणित गरेका कुरा हुन् ।

अन्त्यमा, म के पनि जोड्न चाहन्छु भने मेरो जस्तै सफलताका कथा तपाईंहरूले धेरै सुन्दै आउनु भएको छ । त्यस्तै सफल व्यक्ति हुनुपर्छ भन्ने प्रेरणा अरुबाट पनि प्राप्त गर्न‘भएको छ । यो छोटो समयमा ती कुराहरू मैले दोहो¥याइन । तर एउटा सत्य हो भने भोलि संघर्ष गर्दा तपाईंले धेरै पटक अप्ठ्यारा कुराको सामना पनि गर्न‘पर्ने हुनसक्छ । कतिपय ठाउंमा असफलता हात पर्ला । कुनै बेला निरासाले, कुनै बेला हतासाले घेर्न पनि सक्छ । तर यी कुरा क्षणिक हुन् । अझ भनौं, ती अप्ठ्याराले भोलि तपाईंले पाउनु हुने सफलतालाई चहकिलो बनाइदिन्छ ।

तपाईंहरूले सौभाग्यवस राम्रा विद्यालयमा अध्ययन गर्ने अवसर पाउनु भयो । विश्वभरिका विभिन्न भाषा, जाति, संस्कृति र पहिचानका व्यक्तिहरूसंग एउटै ठाउंमा पढ्ने अवसर पाउनु भयो । यो अनुभव भोलिका दिनमा महत्वपूर्ण हुनेछन् ।

यो मित्रतालाई निरन्तर राख्न सकियो भने जीवनको यात्रामा एक अर्काको सहयोगी बन्न सकिनेछ । विगत गुरु हो र हरेक मानिस मृत्युअघिसम्म विद्यार्थी हो । यो तथ्यलाई पनि ध्यान राख्नुहोला । अबका केहि वर्ष तपाईंहरूको जीवनको सर्वाधिक महत्वपूर्ण वर्ष हुनेछन् । विश्वका महत्वपूर्ण विश्व विद्यालयमा तपाईंहरू उच्च शिक्षा अध्ययन गर्न जांदै हुनुहुन्छ । आफ्ना अभिभावकसंग छुट्टीनुपर्दा केही अप्ठेरो अवश्य होला तर खुसीको कुरा यहींबाट तपाईंहरूको नयां जीवन सुरु भएको छ र नयँ संघर्षका दिनहरू पनि । भोलि तपाईंले पाएको सफलताको उपभोग एक्लै नगर्नुहोला ।

धरती सबैको साझा घर हो । तपाईंहरूलाई आजको अवस्थासम्म ल्याउन यो पृथ्वीले साथ दिएको छ, पानीले, सूर्यले, यहांका मानिसहरू सबैले साथ दिएका छन् । तपाईंभन्दा पर दूरदराज क्षेत्रका बासिन्दाहरूले जंगल सुरक्षित राखिदिएर, पानी सुरक्षित राखिदिएर तपाईंलाई साथ दिएका छन् । तपाईंको प्रगतिमा उनीहरूको पनि साथ छ र उनीहरूका लागि मेरो सफलताको केही अंश छुट्याउनु पर्छ भन्ने नबिर्सनुहोला ।

चिनियां उखान जस्तै मानिसलाई सहयोग गर्दा माछा दिनुभन्दा बल्छी दिएर माछा मार्ने तरिका सिकाउनुपर्छ भन्ने सिद्धान्तको उपयोग गर्नुहोला ।

म कुनै उपेदशकोरुपमा नभएर आफ्नो ५० वर्ष लामो जिन्दगी भोगाईका केही अनुभवहरू सेयर गर्न चाहन्छु । यहां सबै कुरा गर्न सम्भव छैन । मैले यहांजम्मा तीन बुंदामा आफ्ना कुराहरू राखें । तपाईंहरूमध्ये एकजनाकालागि मात्रै पनि मेरो जीवनका अनुभवले थोरै हौसला र पे्ररणा जगाउन सक्यो भने सार्थक हुनेछ भन्ने विश्वास लिएको छु । तपाईंहरूको उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना गर्दछु । सबैको जय होस् ।

(इन्टरनेशनल स्कूल अफ फ्ंयांकफोर्ट, जर्मनीमा बाह्र कक्षामा पढ्ने आफ्नो छोराको विद्यालयमा अभिभावकको तर्फबाट लामिछानेले राखेको उपरोक्त बिचार हामीले उहांको फेसबुकबाट साभार गरेका हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares