वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान

वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान

यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्छ । यज्ञ-हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ । त्यसबाट वृष्टि हुन्छ । वृष्टिबाट चराचर जगत्को, प्राणीको जीवनदायिनी शक्तिको सृष्टि हुन्छ । हाम्रा शास्त्रीय मान्यताले सम्पूर्ण मानवहित, परोपकारी भावना विकासका लागि यज्ञकर्मका निम्ति अन्नको महत्वको विषयमा पुष्टि गरेका छन् ।

धर्मशास्त्रमा अन्न नै प्राण हो भनिएको छ । मानवजीवन अन्नमा नै निर्भर छ । शरीरमा पञ्चप्राणको अवस्थिति छ । प्राण, अपान, व्यान, समान र उदान । प्राणको पुष्टिका लागि अन्नको आवश्यकता पर्छ । अन्नमय कोष विकासका लागि अन्न नै चाहिन्छ । अन्नको प्राप्तिबिना मानिसको शरीर पोषणयुक्त र पूर्ण हुन सक्दैन । स्वस्थ शरीरका लागि अन्न आवश्यक छ । अन्न, जल र वायुबिना मानिस बाँच्न सक्दैन ।

शरीरमा अन्नको पौष्टिक तत्व रहेन भने मानिस सुस्वास्थ्य, दीर्घायुको कल्पनासमेत गर्न सक्दैन । सृष्टिको उत्पत्तिका साथै अन्न, वनस्पति र औषधिको उत्पत्तिको विधान भएको छ । वेदका मन्त्रहरूमा अन्न, कृषि, कृषिको उपयोगिताबारे चर्चा भएका छन् । मानवजीवनको आधार नै कृषि हो । सृष्टिका प्रत्येक गतिशील जीवलाई अन्नको आवश्यकता पर्छ । सृष्टिमा पाइने जीव-वनस्पतिलाई चार प्रकारमा विभाजन गरिएको छ-
अण्डज पक्षी- भाले-पोथीबाट फुल ओथरेर उत्पन्न हुने पक्षी आदि, पिण्डज÷जरायुज डाँगो- छाउरी, पुरुष-स्त्रीको सम्बन्धबाट जन्म लिने (सालनालसहित उत्पन्न हुने जीवजन्तु, मनुष्य),

श्वेदज- पसिना, फोहोरमैलाबाट उत्पन्न हुने उडुस, उपियाँ, जुम्रा, लिखा, भाइरस ब्याक्टेरिया आदि ।उद्भिज- धरतीमा बीउबाट उत्पन्न हुने वनस्पति, औषधि, लतागुल्म, अन्न, धान, जौ, तील, कागुनी आदि हुन् । यस्ता चार प्रकार जीव-वनस्पतिमध्ये पक्षी जातका प्रजाति, मनुष्य तथा जीवजगत्का प्रजाति, वनस्पति जगत्का प्रजातिका लागि तिनको अवस्था र स्वरूपअनुसार अन्न, जल र भोजको आवश्यकता पर्छ । मनुष्यलाई सबैभन्दा धेरै भोक-तिर्खाको अनुभूति हुन्छ । हाम्रा पूर्वजहरूले कृषिकर्मका लागि वैदिक कृषिलाई महत्वपूर्ण स्थान दिएका थिए । नेपालको कृषि परम्परा पनि वैदिक कृषिको परम्परागत अवस्थाबाट विकास भएको छ ।
या ओषधि पूर्वाजाता देवेभ्यः …. (वेद)

कृषिकार्यलाई गौरवपूर्ण कार्य मानिएको छ । कृषक साक्षात् परमात्माका सन्तान हुन् भन्ने भाव वेदमा छ । कृषिकार्यलाई गौरव, सम्मान र प्रतिष्ठाको कार्य भनेर प्रशंसा गरिएको छ ।

मनुष्य धरतीमा आउनुभन्दा तीन युगपहिले वृक्ष वनस्पति, लतागुल्म र अन्न आएको वेदमा उल्लेख भएको छ । मानवको उत्पत्तिसँगै भोक-तिर्खा, चिसो-तातो, सुख-दुःख साथमा आएका छन् । भोक-तिर्खा निवारणका लागि अन्न आवश्यक छ । त्यसैका लागि व्यवस्थित कृषिको आवश्यकतालाई अनुभूत गरी सृष्टिको आरम्भमा भगवान् शिव र पार्वतीले अन्नपूर्णाबाट अन्नको बीज उत्पन्न गराई विकास भएको वैदिक वाङ्मयमा चर्चा छ ।  कृषिकार्यलाई गौरवपूर्ण कार्य मानिएको छ । कृषक साक्षात् परमात्माका सन्तान हुन् भन्ने भाव वेदमा छ । कृषिकार्यलाई गौरव, सम्मान र प्रतिष्ठाको कार्य भनेर प्रशंसा गरिएको छ । भगवान रुद्रको निर्देशनमा इन्द्र र पूषाले सर्वप्रथम धरतीमा कृषिको आरम्भ गरे भन्ने वचन पाइन्छ ।

विराट् ब्रह्मबाट जब मनुष्यको सृष्टि भयो । सृष्टिमा ब्रह्माले इरावती (अन्नसमृद्धि) को विषयमा उपदेश गर्नुभयो । कृषिलाई उत्तम कार्य भन्दै सस्य (पृथिवी सस्यशालिनी) पृथिवी अन्नले समृद्ध होऊन् भन्दै भाव प्रकट गरियो । कृषिकार्य र मनुष्यजीवन एकअर्काका पूरक हुन् । कृषिकार्यबाट नै अन्नसमृद्धिको परिकल्पना गरिएको छ ।

ते कृषिं च सस्यां मनुष्या उपजीवन्ति । अथर्ववेदमा यस्तो भनिएको छ- जो कृषिमा निपुर्ण हुन्छन्, तिनीहरूलाई कृष्टराधि भनिएको छ । सफल आजीविका भएका उत्कृष्ट पुरुषहरूलाई कृषकलाई मानिएको छ । कृषक नै धर्तीका जीवित देवतासरह हुन् जसले कृषिकार्य गरेर धर्तीमा सबैको प्राणलाई बचाएका छन् । कृषिविशेषज्ञलाई ‘अन्नविद्’ भनिएको छ । सफल अन्नविद् ऋषिहरूले कृषिको नियम बनाएका हुन् ।

यजुर्वेदमा राजधर्मको महत्वपूर्ण पक्ष कृषिकार्यलाई मानिएको छ । शासकको कर्तव्य कृषिकार्यलाई व्यवस्थित गर्नु र कृषिकार्यलाई जनसमुदायमा प्रोत्साहन गर्नु भनिएको छ । कृषिको निरन्तर उन्नति गरी सम्पूर्ण प्रजालाई उन्नतशील बनाऊन् । जनकल्याणका लागि धनधान्यको वृद्धि होस् । धनधान्यको वृद्धिबाट प्रजाको हित र सुरक्षा निश्चित छ । तसर्थ, उत्कृष्ट कृषिको व्यवस्था गर्नु राष्ट्रप्रमुखको प्रथम दायित्व हो ।

अन्नको महत्व नबुझ्नेहरूलाई शासनसत्तामा एकछिन पनि बस्ने अधिकार हुँदैन । तसर्थ कृषिलाई प्रोत्साहन नगर्ने, जनताका दुःखसुखमा, भोजनको अभावमा, दैविक प्रकोप र आपत्ति आएको अवस्थामा सर्वसाधारण जनसमुदायले भोजन गर्न पाएनन् भने राष्ट्रप्रमुखले सामूहिक भोजनको सदावर्तको व्यवस्था गर्नुपर्छ । त्यस्तो गर्दैन भने त्यस्ता शासकलाई राज्यसत्ताबाट तुरुन्त पतन गराऊ र अर्को सुयोग्य राष्ट्रप्रमुख नियुक्त गर- ऋषिहरूको निर्देशन हो । अन्न सञ्चय गरी राष्ट्रिय भण्डार सधैं पूर्ण होस् । अन्नपूर्णको भण्डारमा निरन्तर बास होस् । वैदिक वाङ्मयमा कृषिकार्य चार विभागमा व्यवस्थित गरिएको छ ।

कृषन्तः, वपन्तः, लुनन्तः, मृणन्तः । शतपथ० १.६१.३

कर्षण (खनजोत गर्नु), वपन (खनजोत गरिएको उत्तम भूमिमा बीउ रोप्नु), लवन (अन्नलाई गोड्नु, पाकेकोलाई काट्नु, उठाउनु), मर्दन (स्वच्छ बनाउनु, कुट्नु, पिस्नु, केलाउनु, भण्डारण गर्नु) ।

ऋग्वेदअनुसार सर्वप्रथम देवगण (पुरुषार्थी विद्वान्) उनीहरूसँग एक प्रकारका तिखा हतियारहरू (बन्चरो) थिए । उनीहरूले सबैभन्दा पहिले वन र जंगललाई काटेर सफा गरे । उनीहरूसँग केही सहयोगी परिजन अथवा प्रजा पनि थिए । जंगलबाट प्राप्त गरेका दाउराका टुक्राहरूलाई एकत्रित गरे र नदीकिनारामा राखे । त्यहाँ रहेको घाँस पनि काटे । योग्य र विज्ञ पुरोहितले अग्नि प्रज्वलित गरे । अग्निमिडे पुरोहितः… (ऋग्वेद) ।

ऋतुअनुसार कृषि गर्ने विधान पाइन्छ । वसन्त ऋतुमा दाना अथवा बीज प्रयोग गरेर रोपिने अन्नबालीको खेती गर्नुपर्छ । चैत्र पूर्णिमामा चण्डीको पूजा गर्नु, चैत्र शुक्ल प्रतिपदामा जमरा राख्नु, बीउबिजन उम्रिने परीक्षण गर्नु हो । ग्रीष्म ऋतुमा विभिन्न वाला हुने, फुल्ने-फल्ने वनस्पति लतागुल्मको खेती गर्नु, धानसहित तिल, कागुनी, मुंग, चना आदिको खेती गर्ने विधान पाइन्छ । शरद ऋतुमा जौसहित बाला आउने अन्नको खेती गर्नु । हेमन्त ऋतुमा लहरा, कोषा आदि हुने अन्नको खेती गर्नु भनिएको छ । शिशिर ऋतुमा पालुवा आउने, कलमी गाड्ने प्रकारका बीज-वनस्पति खेती गर्ने विधान पाइन्छ ।

बाग्मती, विष्णुमती, रुद्रमती र गण्डकीको किनारमा कृषि कार्यको आरम्भ गरे । धर्तीमा पहिलो अन्न नै धान हो । धानको खेती सुरु गरे । धान, जौ, तिल, कागुनी, चना, मुंग, मास आदि अन्नको खेती गरे । वैदिक वाङ्मयमा आगो र अन्नको सम्बन्ध अन्योन्याश्रित छ । जन्मदेखि मृत्युसम्म बयालीस संस्कारहरू छन् । त्यसमा प्रमुख १६ संस्कारमा आगो बाल्ने, हवन गर्ने विधान गरिएको छ । मृत्यु संस्कारमा पनि आगोमै बालेर शरीरलाई समाप्त गर्ने विधान हो । अन्न र अक्षताबिना वैदिक संस्कारका कुनै पूजा, यज्ञ हवन सम्पन्न हुँदैनन् ।  दसैंको टीकादेखि लिएर विवाहको मण्डपसम्म धानको लावा र अक्षताको प्रयोग गरिन्छ नै । तिल, जौ, चामल (अक्षता), मुंग, मसुरो, कागुनी, चना सबै यज्ञमा प्रयोग हुने अन्नहरू र जो पवित्र र पौष्टिक मानिन्छन् ।

नेपाली सन्दर्भ

नेपालको सन्दर्भमा कृषिक्रान्तिका नाममा उब्जाउ भूमिलाई टुक्राटुक्रा पारेर घडेरी बनाउने आँधीबेहरी नै चल्यो । उब्जाउ भूमि भएका कृषकलाई घडेरी व्यापारका नाममा जग्गा दलालका रूपमा कार्य गर्ने कार्यकर्तामा परिणत गरियो । ती उब्जाउ भूमि भएका कृषकका छोराछोरीहरू आज खाडीमा ज्यान गुमाइरहेका छन् । राष्ट्रिय अर्थतन्त्र ध्वस्त बनाइएको छ । के यही थियो दुईदुईवटा कृषि क्रान्तिको अर्थ र सार ? समाजवाद, आर्थिक उदारीकरण तथा साम्यवादी कृषि क्रान्तिका कारण आज मुलुकका दुई तिहाइ कृषियोग्य भूमि घडेरीका नाममा टुक्रिँदैछन्, बहुसंख्यक उब्जाउ कृषकहरू घडेरी दलालमा परिणत भएका छन् र मुलुकले अरबौं बराबरको अन्न विदेशी मुलुकबाट आयात गर्न बाध्य छ । यही हो कृषि क्रान्ति ?

अन्त्यमा,

हामी वैदिक कृषिको अभ्यासबाट राष्ट्रलाई समृद्ध बनाउन सक्छौं । हाम्रा मौलिक परम्परा, मान्यतालाई वैज्ञानिक तथ्यमा पुष्टि गर्न सक्छौं । कृषिका लागि आत्मनिर्भर हुन सम्पूर्ण राष्ट्रको विकास र उन्नतिका लागि कृषिलाई प्राथमिकता दिएर सम्पूर्ण भूभागमा कृषिको व्यवस्थित व्यवस्थापन गर्ने महत्वपूर्ण अवसर निर्माण गरौं । भोक, शोक, अशिक्षा, अन्योल हटाउन कृषिकर्मलाई राष्ट्रियकर्म बनाउनेतर्फ लाग्नु नै तर्कसंगत र बुद्धिमानीपूर्ण हुन्छ । हाम्रो देश केही दशकपहिले कृषिमा आत्मनिर्भर नै थियो । तर, आज हामी सम्पूर्ण अनाज, तिल-तेलहन र खाद्यान्नहरू आयात गरिरहेका छौं ।

यसले राष्ट्रवासीलाई दिनानुदिन परनिर्भर बनाउन प्रोत्साहन गरिरहेको छ भने आयातीत खाद्यान्न, आयातीत विचार, आयातीत वाद, वस्त्र, आभूषण, सौन्दर्य प्रसाधन आयात गरेर परजीवी, परविचारका संवाहक, परचक्रीका संयोजक त बनिरहेका छैनौं ? गम्भीर प्रश्नहरू उब्जिन्छन् । ठोस योजना कार्यान्वयन नहुँदा कृषक न कृषि सबै भद्रगोल र अस्तव्यस्त भएको छ । राष्ट्रिय स्वाभिमानलाई माथि उठाउनु छ भने नेपालको वैदिक कृषिका सीपलाई जनस्तरमा पुर्‍याएर विकास गर्नु कृषिमा आत्मनिर्भर बन्नु नै राष्ट्र समृद्धिको उत्तम विकल्प हो ।

(अन्नपूर्ण राष्ट्रिय दैनिकमा केही समय अगाडि प्रकाशित यो लेख अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोले यहां साभार गरिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares