अवकाश पछिको रोजाई कृषि उद्यम

अवकाश पछिको रोजाई कृषि उद्यम

जागिर गर्नेहरुको लागि संभवतः सबैभन्दा अप्रिय शब्द हो—अवकाश । तर, अवकाश पाउन ८ वर्ष छंदा राजिनामा दिएका कृषि प्राविधिक पुस्कर आचार्यले त्यसयताको २ वर्षको अवधिमा जति व्यस्त हुनुभयो, संभवतः जागिरे जीवनमा कहिल्यै हुनु भएन । कतिसम्म भने अहिले लक डाउनको समयमा समेत आचार्यलाई एकछिन फुर्सद छैन ।

ललितपुरका २ वटा सहकारीले संचालन गरेको कृषि फार्मको प्राविधिक पक्ष उहांले नै हेर्नुहुन्छ । त्यतिमात्र होइन, देशभरिका किसानहरुले भाइबर, इमेल र फेसबुक म्यासेन्जरबाट समस्याहरुको बारेमा जिज्ञासा राख्छन् । आचार्य झन्झट नमानीकन उनीहरुको समस्याको समाधान गरिदिनुहुन्छ ।

दैनिक ५० जना जति किसानको फोन आउंछ उहांलाई । झिसमिसे विहानैदेखि कहिले कांही त रातीको ९,१० सम्म नै । ‘राती ८,९ बजे पछि र विहान ७ बजे अगाडि फोन नआइदिए हुन्थ्यो भन्ने लाग्छ । अरु बेला त केही छैन, आफूले जानेको सहयोग गर्ने हो’ आचार्य भन्नुहुन्छ ।

आचार्य त प्राविधिक हुनु भयो, अवकाश पछि आफ्नै कृषि फार्म शुरु गरेका निजामति कर्मचारीहरुको सफलता र सक्रियता हेर्दा ‘काम गर्ने उमेर र सफलताको कारक के हो ?’ भन्ने गंभिर प्रश्न उठ्छ । किनकी धेरै मानिसहरुको लागि ५० पछिको जीवन ‘बुढ्यौलीले छोपेको’ हुन्छ । त्यहीकारण उनीहरु ‘यो उमेरमा के काम गर्नु ? नातिनातिना स्याहारेर वसिरहेको छु’ भन्ने बताउने गरेको पाइन्छ । त्यहिकारण खासगरि निजामति सेवाबाट अवकाश पाएका धेरै मानिसहरुको जीवन निराश र तनावमा वित्ने गरेको छ । अव्यवस्थित खानपान र शारिरिक निस्कृयताले अनेक रोगहरुको चपेटामा परिरहेका हुन्छन् ।

तर, समाजमा आचार्य जस्ता केही व्यक्तिहरु पनि छन् । जो, जागिरबाट अवकाश पाएपछि झन बढी सक्रिय र उपलब्धिमूलक काम गरिरहेका छन् । वास्तविक रुपमा आफ्नो परिचय स्थापित गरिरहेका छन् । अर्थात् जागिरे जीवनमा प्राप्त गर्न नसकेको मान प्रतिष्ठा र आर्थिक उन्नती अवकाश पछि प्राप्त गरेका छन् । (विभिन्न पेशा व्यवसायमा यस्ता अनगिन्ति व्यक्तित्वहरु भए पनि यहां कृषिसंग सम्वन्धित केही व्यक्तिहरुको बारेमा चर्चा गरिएको छ । कृषि उद्यममा पनि यस्ता थुप्रै व्यक्तिहरु रहेकोमा कुनै विवाद छैन)

झण्डै ३ दशक काम गरेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट अवकाश पाएका डा. केदार बुढाथोकी र डा. सूर्य पाण्डेलाई जागिरे जीवनभर निकै कम मान्छेले मात्रै चिन्थे । तर, जव उहांहरुले अवकाश पाउनुभयो, दुवैजना कृषि उद्यमका प्रेरणादायि व्यक्तित्वको रुपमा स्थापित हुनु भयो ।

सृजना गोलभेंडाको व्यवसायिक विकासमा डा. बुढाथोकी र किवि तथा ड्रागन फ्रुटलाई व्यवसायिक रुप दिनमा डा. पाण्डेले अवकाश पछि जुन भूमिका खेल्नुभयो, त्यो नेपालको कृषि उद्यमको लागि ऐंतिहांसिक देनको रुपमा रहेको छ । उमेरले सात दशक पार गरे पनि उहांहरुको सक्रियता र सफलताले छर्लंग पार्छ—सफलताको लागि उमेर र अवकाशको कुनै सम्वन्ध हुदैन । बरु अवकाश पछि स्वतन्त्र ढंगले काम गर्न सकिने भएकोले सफल हुन सकिन्छ ।

काम गराउनु र गर्नुमा फरक

‘नेपालमा इमान्दारीपूर्ण काम गर्नेहरुले खासगरि सरकारी जागिरबाट सन्तुष्टि पाउन गाह्रो छ । मलाई त्यस्तै भएकोले अवकाश पाउन ४ वर्ष वांकी छदैं छोडेर आफै काम शुरु गरें । अहिले सन्तुष्ट छु’ वागवानी विज्ञ वासु सुवेदीको यो भनाईले कृषिको ‘जागिर’मा रहेका इमान्दारीपूर्णरुपमा काम गर्नेहरुको नियतिलाई स्पष्ट पार्छ ।

अझ सुवेदीको भनाइलाई मान्ने हो भने त जागिरे जीवनमा तपाईको दिमाग १०—५ सक्रिय भए हुन्छ । आफ्नै उद्यमशिलता शुरु गरेपछि जतिबेला पनि सक्रिय हुनुपर्छ । ‘रुटिन’ भन्ने हुंदैन । सबैभन्दा ठूलो कुरा त अरुलाई काम गराउन र आफै काम गर्नुमा आकास जमीनको फरक हुन्छ ।

जागिरे जीवनमा रहंदै करिब १५ वर्षदेखि आफ्नै घर, चितवनको जगतपुरमा १० कठ्ठामा केरा, आंप, लिची लगायतका फलफूलका विरुवाहरुको खेती र कारोवार गर्दै आउनु भएका सुवेदीले जागिरबाट राजिनामा दिएपछि काठमाण्डौको किर्तिपुरमा भाडामा जग्गा लिएर ‘दि प्लाण्ट’ नामक कम्पनी शुरु गर्नु भएको छ, जहां एभोकाडो, किवि, ड्रागन फ्रुट लगायतका फलफूलका विरुवाहरु उत्पादन र विक्री वितरण हुन्छ ।

आफ्नै दिमाग आफ्नै मर्जी

अवकाश भनेको जीवनको एउटा पाटो मात्र हो । सक्रिय जीवनको समाप्ती होइन । यही कुरा लागू हुन्छ—आलु विज्ञ शंभु ढकालमा । उहांले आफू जस्तै सरकारी सेवामा रहेका श्याम ढकाल, श्रवण अधिकारी, रामभवेश नेपाल आदीसंग मिलेर शुरु गरेको ‘कुशल एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेण्ट सेण्टर’ (केआरडिसी)ले गोदावरी र वर्दियामा आलुको मूल बीउ उत्पादन गर्ने गरेको छ भने केराको बीउ र बेर्ना पनि उत्पादन गर्ने तयारी गरिरहेको छ । ‘जागिर खांदा आफ्नो इच्छाअनुसार काम गर्न पाइदैन, तर आफै काम गर्दा त दिमागमा जे आउंछ, त्यो लागू गर्न पाइन्छ । जागिरमा रहंदाको अनुभवले अवकाश पछिको काममा सफलता दिलाउन मुख्य भूमिका खेल्छ’ ढकालको भनाइ छ ।

इमान्दार मान्छेले जागिरमा भर पर्नु घातक

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट अवकाश पाएका कृष्ण चन्द्र उप्रेती कालिमाटीमा तरकारी व्यवसाय गर्नुहुन्छ । तर, उहांले अवकाश पाएपछि व्यवसाय गर्न थाल्नु भएको भने होइन । २०४८ सालतिरबाटै उहांले व्यवसाय शुरु गर्नुभएको हो । ‘जागिरमा हुन्जेल सांझ विहान समय दिन्थे, अहिले पुरै समय व्ययसायलाई समय दिन्छु । जागिरे जीवनमा रहंदा पनि व्यवसाय गर्ने भएकोले मेरो लागि समय व्यवस्थापन जहिले पनि उस्तै छ । फुर्सद कहिल्यै छैन, सधै व्यस्त नै हुन्छु’ उहांको भनाइ छ ।

उप्रेतीको भनाइलाई मान्ने हो भने नैतिकता नबेचि इमान्दारीपूर्ण काम गर्न चाहने हरेक कर्मचारीले अर्काे कुनै व्यवसाय गर्नैपर्छ । ‘जागिरले जसोतसो जीवन चल्ला, आर्थिक रुपमा सुदृढ हुन सकिदैन । त्यसैले इमान्दार कर्मचारीहरु जहिले पनि संकटमा हुन्छन् । यदि आफ्नै उद्यम हुने हो भने त्यस्तो अवस्था रहंदैन । कुनै वदमासी नै नगरे पनि आर्थिक रुपमा सवल हुन सकिन्छ ।’ उहांको भनाइ छ ।

जागिरको अनुभवले अवकाश पछि सफलता

लामो जागिरे जीवनपछि अवकाश लिएर आफै कृषि उद्यम शुरु गर्नु भएका चितवनका हरि सुवेदी ‘जागिरे जीवनको अनुभवको आधारमा काम शुरु गर्दा सफलता प्राप्त गर्न सकिने’ बताउनुहुन्छ ।

३ जना साझेदारहरु मिलेर २०६० सालदेखि चितवनको ठिमुरामा २ विगाहा भाडामा लिएर कागती खेती गर्नुभएका सुवेदीले अहिले फार्म पर्वतको जलजला गाउंपालिका वडा नं ५ लेकफांटमा सार्नु भएको छ । ‘भाडामा लिएको जग्गाको अवधि यही चैत्र मसान्तसम्म थियो । त्यो म्याद थप गर्न संभव नभएपछि आफ्नै जन्मस्थलमा फार्म सारेको हुं । त्यहां अलिकति आफ्नै जग्गा र केही भाडामा लिएर काम गरिरहेका छौं । फार्म राम्रै छ’ सुवेदीले इएग्रोन्यूजडटकमसंग भन्नुभयो ।

सुवेदीका अनुसार जागिरे जीवनमा हरेक मान्छेले कुनै न कुनै अनुभव लिएको हुन्छ, दक्षता प्राप्त गरेको हुन्छ । त्यसलाई आफ्नो सोंच अनुसार व्यवहारमा ढाल्नको लागि अवकाशपछि उद्यमशिलता गर्नु राम्रो हुन्छ । ‘काम गर्नको लागि उमेरले छेक्दैन’ भन्ने सुवेदी चितवन वस्नुहुन्छ तर पर्वतको फार्म रेखदेख गर्न भ्याइरहनु भएको छ । ‘काम परेको बेला नियमितरुपमा जान्छु, उतै वस्छु, अन्यथा म नारायणगढ वस्छु, स्थानीय साथीहरुले दैनिक काम हेर्नुहुन्छ ।’ सुवेदीको भनाइ छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares