कृषि उद्यममा जमेका दुई इन्जिनियर

कृषि उद्यममा जमेका दुई इन्जिनियर

पढाई अनुसारको काम गरिरहेको भए राजन गैरे यति बेला कुनै ठुलै कम्पनी वा गैरसरकारी संस्थाको ‘इन्जिनियर सा’प’को रूपमा परिचित हुनुहुन्थ्यो । तर, अहिले उहाँलाई इन्जिनियरको रूपमा कसैले चिन्दैन । किनकि उहाँले अचेल ‘इन्जिनियरिङ’को काम गर्नु हुन्न । अहिले उहाँको परिचय सफल कृषि उद्यमीको रूपमा रहेको छ ।

नेपाल जस्तो देशमा धेरै बाबुआमाको इच्छा सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउनुहुन्छ । राजनको इच्छा पनि शायद त्यही थियो । त्यही कारण उहाँले मेकानिकल इन्जिनियरिङ पढ्नु भयो र २०५१ सालमा भक्तपुर सेरामिक्स प्रवर्द्धन आयोजनाबाट ‘क्यारियर’ सुरु गर्नु भयो ।

२०५२ सालमा संयोगले आइडिई नामक कृषि क्षेत्रमा काम गर्ने एउटा प्रोजेक्टमा ‘टेक्निकल एसिस्टेन्स’को रूपमा जागिर सुरु गर्नु भयो । खासमा आइडिईले थोपा सिंचाई लगायतका केही प्रविधिहरूमा काम सुरु गर्न थालेको थियो । त्यसैले आइडिईमा कार्यरत जलस्रोत इन्जिनियर दीपक लोचन अधिकारीले गैरेलाई आफ्नो सहयोगीको रूपमा नियुक्त गर्नु भएको थियो, जहाँ राजनको काम थोपा सिँचाइको लागि फर्मा वा डाई बनाउने थियो ।

त्यहीँबाट नेपालमा थोपा सिंचाई प्रविधि मात्रै भित्रिएन, राजनको जीवनको बाटो नै मोडिदियो । उहाँ इन्जिनियरिङमा भन्दा बिस्तारै कृषि पेसामा सक्रिय हुन थाल्नुभयो । रुचि पनि त्यसैमा बढ्यो । त्यसमाथि आइडिईका तत्कालीन प्रमुख वव नहेसले बारम्बार भन्थे—कुनै संस्थाको मान्छे कुनै किसान कहाँ पुगेपछि उसले यो मान्छे के पढेको भनेर सोच्दैन । यो मान्छेलाई सबै कुराको जानकारी छ, यो विज्ञ हो भन्ने ठान्छ र तिमीले उसको भावनालाई मर्न दिनुहुँदैन । त्यसैले सकेको जति तालिम लेउ र आफूलाई दक्ष बनाऊ ।

उनको कुराले गैह्रेलाई यति प्रभावित गर्‍यो कि उहाँ सकेसम्म तालिमहरू लिनु भयो । त्यसले गर्दा एकातिर उहाँलाई साँच्चैको विज्ञ बनायो भने अर्कोतर्फ गाउँ डुल्ने र किसान, कृषि उद्यमीहरूसँग भेटघाट गर्ने मौका पनि दिलायो ।

करिब २ दशक जागिर गरेपछि ४ वर्ष अगाडि नेपाल एग्रोलाइभ नामक कम्पनी खोलेका राजन अहिले पनि अधिकांश समय कृषकको बिचमै हुनुहुन्छ । देशका अधिकांश जिल्ला पुग्नु भएको छ । आइडिईईमा काम गर्दाको अनुभव र आफ्नो शैक्षिक पृष्ठभूमिको कारण हुनु पर्छ, राजनको कार्यशैली अधिकांश व्यवसायीको भन्दा फरक छ । ‘हामी प्राविधिक सहयोग सहितको सम्पूर्ण सेवाहरू उपलब्ध गराउँछौँ ।

आफूसँग जोडिएका किसानका सुखदुखमा प्रत्यक्षरुपमा सहभागी हुन्छौँ । त्यसले गर्दा हामीसँग एक पटक काम सुरु गरेका व्यक्ति कहिल्यै अरू तिर जान्दैनन् ।’ राजन भन्नुहुन्छ । उहाँका अनुसार अहिले देशका ७७ वटै जिल्लाका हजारौँ किसानहरू प्रत्यक्षरुपमा उहाँहरूसँग जोडिएका छन् ।

अहिले लकडाउनको समयमा समेत भिडिओ कलको माध्यमबाट समस्या समाधानको काम गरिरहेको उहाँको भनाई छ । ‘अहिले सबै ठाउँमा पुग्न सकिँदैन । त्यसैले भिडिओ कुराकानी गरेर उहाँहरूको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ’ राजन भन्नुहुन्छ ।

आफ्नै कम्पनी सुरु गर्नु अगाडि राजनले बिचमा केही समय एनसेलमा पनि जागिर गर्नु भयो । तलब सुविधा राम्रै थियो । तर सन्तुष्टि भएन । ‘जतिवटा पोल बनाए पनि वा जति समस्या समाधान गरे पनि तैँले गर्दा यति काम भयो भनेर स्याबासी त कसैले नदिने ।

‘त्यसैले जति काम गरे पनि, जति पैसा पाए पनि त्यहाँ सन्तुष्टि कहिल्यै भएन । जबकि यहाँ भने मानिसहरूलाई अलिकति तरिका सिकाउने बित्तिकै सन्तुष्टि पाइने । आफूले उद्यम शीलता सिकाएका व्यक्तिले तपाईँले गर्दा यस्तो भयो भन्दा जस्तो सन्तुष्टि जीवनमा अरू केही हुँदैन । त्यसैले मलाई कृषि उद्यम जस्तो सन्तुष्टिको विषय अरू केहीबाट प्राप्त गर्न सकिन’ उहाँले भन्नुहुन्छ ।

बजारीकरणमा नयाँ प्रयोग गर्दै इन्जिनियर सुह्रिद

भारतको इलाहावादबाट मेकानिकल इन्जिनियरिङ गरेका सुहृद चापागाईँले वेंगलोरबाट एम.वि.ए. गर्नु भयो । काठमाडौँमा जन्मे हुर्के पनि सुहृदको रुचि सानै देखि गाउँमा काम गर्ने थियो । त्यही कारण उहाँले एमबिएको थेसिस ‘रुरल इण्टरप्रेनरसीप’मा गर्नुभयो, जसमा नेपालको ग्रामीण क्षेत्रमा के कस्ता उद्यशलिताका सम्भावना र चुनौतिहरु छन् भन्ने उल्लेख गरिएको थियो । आफ्नो थेसिस देखेर त्यहाँका प्रध्यापकहरु पनि ‘कसरी यस्तो लेख्न सकिस्’ भन्दै प्रशंसा गरेको उहाँ बताउनुहुन्छ ।

पढाइसकेपछि सन् २००३ देखि १० वर्षसम्म विभिन्न सङ्घसंस्थामा काम गर्नु भयो । तर, सन्तुष्टि प्राप्त भएन । त्यसपछि २०१३ देखि आफैले उद्यमशीलता विकासको लागि काम गर्न थाल्नुभयो । नेपालको मुख्य समस्या ग्रामीण क्षेत्रको गरिबी हो भन्ने बुझेका सुहृदले कृषिको व्यवसायीकरण गर्ने हो भने त्यो समस्या समाधान हुन सक्छ र त्यसको लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुपर्छ भन्ने ठानेर आफैले कृषि क्षेत्रमा काम सुरु गर्नु भयो । ‘धेरै ठुलो काम गर्नै पर्दैन ।

गाउँका किसानले उत्पादन गरेका वस्तु सहजरुपमा विक्री गरिदिने र उनीहरूलाई उचित मूल्य दिने हो भने किसानको समस्या मात्रै समाधान हुँदैन, गरिबी पनि उन्मुलन हुन्छ’ सुह्रिदको सोझो तर्क छ —हामी ठुला ठुला कुरा गर्छौँ । समस्याको जड स—सना हुन्छन् । किसानले उत्पादन गरेको वस्तु नाफाको सुनिश्चितता गरेर बेचिदिने हो भने किसानले अरू आफै गर्छन् । मूल्यमा सुनिश्चितता अहिलेको लागि मुख्य कुरा हो ।

सुहृद अध्यक्ष रहेको सेफ फुड एलाइन्सले कृषकलाई उपयुक्त मुनाफा दिनको लागि एउटा प्रयास सुरु गरेको छ । समानको प्याकेजिङ गर्ने र त्यसमा उपभोक्ता मूल्य र किसानको नाम, ठेगाना र सम्पर्क नम्बरसहित किसानले पाउने मूल्य उल्लेख गर्ने । त्यसो गर्दा उपभोक्ता र किसानबिच सोझै सम्पर्क हुने, वस्तुको गुणस्तरीयता कायम हुने र बिचौलियाको बिगबिगी पनि कम हुने उहाँको भनाइ छ ।

‘७०÷३० मा हामीले काम गरिरहेका छौँ । अर्थात् कुनै पनि कृषि उपज खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्यको ७० प्रतिशत किसानले पाउँछन् भने बजारीकरण गरिदिएबापत ३० प्रतिशत हामीले पाउँछौँ ।

किवीमा त हामीले ८० प्रतिशतसम्म किसानलाई दिऔँ ।’ उहाँ भन्नुहुन्छ । अहिले लक डाउनको समयमा भने उपभोक्ता कहाँ पुर्‍याउन पनि चुनौतीपूर्ण रहेको , ढुवानी खर्च बढेकोले ६०÷४० को दरले काम गरिरहेको उहाँको भनाइ छ ।

सुहृदकाअनुसार बजार मूल्यको ७० प्रतिशत किसानलाई दिँदा पनि कुनै घाटा हुँदैन । ‘तपाई कालीमाटी वा अरू कुनै बजारमा समान पठाउँदा वेष्टेज बढी हुन्छ । विक्री नभएर २,३ पछि अति नै सस्तो मूल्यमा विक्री गर्नुपर्छ वा फाल्नु पर्ने पनि हुन सक्छ ।

त्यसैले व्यापारीले अलि बढी नाफा राख्नु स्वाभाविक हो । तर, हामी पहिले नै माग कति छ भन्ने निक्र्याैल गर्छौँ र किसानलाई त्यही अनुसार सूचना दिएर समान लिन्छौँ ।

त्यसैले वेष्टेज हुँदैन र किसानले पनि राम्रो मूल्य पाउँछन् । वास्तवमा कृषिको विकासको लागि अहिले हामीले गरिरहेको प्रयास उपयुक्त छ र त्यसलाई देशभरि नै अवलम्बन गर्नुपर्छ भन्ने मलाई लागेको छ’ सुह्रिद भन्नुहुन्छ । सेफ फुड एलायन्सका अध्यक्ष सुहृद मेकानिकल इन्जिनियर्स एशोसिसनका महासचिव पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares