आजको भोलि नै भएन भनेर नआत्तिऊँ, किसानले राहत पाउँछन्

आजको भोलि नै भएन भनेर नआत्तिऊँ, किसानले राहत पाउँछन्

कोरोना महामारीमा कृषि विकास मन्त्रालयले के काम गरिरहेको छ ?

हामीले एउटा ‘रेस्पोन्स टिम’ बनाएका छौँ । त्यो टिममा मसहित पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा र मन्त्रीज्यूको सचिवालयका पूर्णबहादुर बुढा गरी तीन जना छौँ । यो टिमले कृषक, कृषि उद्यमीहरूलाई परेका समस्या समाधानको लागि सहजीकरण गरिदिने काम गर्छ, गरिरहेको छ ।

अहिले कोरोनाको महामारी चलिरहेको छ र यो कहाँ पुगेर कहिले टुङ्गिन्छ भन्न सकिने अवस्था छैन । त्यसैले कृषि क्षेत्रमा त्यसको समग्र असर कति पर्छ अहिले नै भन्न सकिने अवस्था छैन । तर, हामीले किसानलाई कसरी राहत दिने भनेर एउटा ‘मोडालिटी’ तयार गर्ने प्रयास गर्दैछौं ।

त्यस्तै अहिले फौजी किराको प्रकोप देखिएको छ । त्यसको नियन्त्रणको लागि पनि पनि हामीले विशेष कार्य योजना बनाएर काम गरिरहेका छौँ । समस्याले उग्र रूप नलिँदै समाधान गर्नको लागि प्रयास गरिरहेका छौँ ।

सातै वटा प्रदेशका स्थानीय निकायहरूमा कार्यरत प्राविधिकहरूमार्फत कृषि क्षेत्रको समग्र अवस्था र समस्याको बारेमा अध्ययन अनुगमन गरिरहेका छौँ । कुन ठाउँमा मल, बीउ, विषादी आदीको बारेमा अध्ययन अनुगमन गरिरहेका छौँ ।

कोरोनाले अहिलेसम्म कति क्षति पुर्‍याएको छ ?

निकै क्षति पुर्‍याएको छ । तर, कति क्षति पुर्‍याएको छ भन्ने बारेमा अहिले नै भन्न सकिँदैन । किनकि कोरोनाको महामारी चलिरहेको छ र यो कहिलेसम्म चल्छ भन्न सकिँदैन । त्यसैले क्षतिको आंकलन गर्न सकिने अवस्था छैन । आजसम्मको यति भन्यो, भोलि नमिल्न सक्छ । हामीले गाउँ पालिका स्तरबाटै तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । त्यसको लागि सबै पालिकाहरूलाई यथार्थ जानकारी सहितको विवरण पठाउनुहोस् हामीले अनुरोध गरेका छौँ । मन्त्रीज्यूले प्रदेशका मन्त्रीज्यूहरूलाई पनि त्यही अनुरोध गर्नु भएको छ ।

क्षेत्रगतरुपमा कुरा गर्दा सबैभन्दा बढी नोक्सानी कुखुरा, दुग्ध, तरकारी केरा, र फूल व्यवसायीहरूले भोग्नु परिरहेको छ । अहिलेको सिजन फूलको सिजन हो । तर, कोरोनाको कारण यो सिजनमा फूल कृषकले पूर्ण रूपमा घाटा बेहोर्नु परिरहेको छ । वास्तवमा अहिले कृषि क्षेत्रमा कोही सबैभन्दा बिचल्लीपूर्ण अवस्थामा पुगेको छ भने त्यो फूल कृषकहरू हुन् ।

अर्को अति प्रभावित भएको क्षेत्र बोइलर कुखुरा पालन गर्ने किसान हुन् । अरू व्यवसायमा बरु २,४ दिन पछि भन्ने हुन्छ । निश्चित समयपछि बोइलर बजारमा पठाउनै पर्छ, नभए त्यसको मासु बढ्दैन । नोक्सानी मात्रै बढ्छ । तर, अहिले होटेल, रेष्टुरांहरु बन्द छन् । घरेलु उपभोक्ता एक किसिमले मासु खान हिचकिचाइरहेका छन् । त्यसैले मासुको खपत छैन । फलस्वरूप बोइलर पालन गर्नेहरू निकै समस्यामा छन् ।

त्यस्तै तरकारी, फलफूल, मौरी च्याउ, पशुपालन सबै क्षेत्रमा ठुलो नोक्सानी भएको छ । मैले पहिले पनि भनेँ—अहिले नै नोक्सानीको सबै विवरण तयार हुन सक्दैन । लक डाउन सकिएको केही दिन भित्र सबै विवरण पठाउन हामीले पालिकाहरूलाई निर्देशन दिएका छौँ । त्यो आएपछि बल्ल कति क्षति भयो भन्ने यकिन हुन सक्छ ।

अहिले भइरहेको नोक्सानीको पाटो एउटा छ, अर्को भोलिका दिनमा खाद्य र पोषण सुरक्षामा के कस्तो चुनौतीहरू थपिन सक्छन् भन्ने बारेमा हामीले अध्ययन गरिरहेका छौँ । त्यसको लागि एफएओ र डब्लुएफपीसंगको सहकार्यमा अध्ययन भइरहेको छ ।

सबैको लागि चासोको विषय चाही सरकारले पीडित कृषकहरूको लागि के राहत दिन्छ भन्ने छ, यसबारेमा मन्त्रालयले केही गरिरहेको छ कि यसमा पनि पर्ख र हेरौँ भन्ने मात्रै हो ?

किसानलाई राहत नदिने त कुरै हुँदैन । हामीले त्यसको मोडालिटी बनाउंदैछौं । प्रदेश २ ले एउटा मोडालिटी बनाएर राहत वितरण सुरु गरेको छ । त्यही मोडालिटी अरू प्रदेशमा पनि उपयुक्त हुन्छ कि हुदैंन भनेर पनि विचार गरिरहेका छौँ । सङ्घीय सरकारको तर्फबाट पनि राहतको कार्यक्रम आइहाल्छ । बजेटमार्फत अर्थ मन्त्रालयबाट हुने राहतको कुरा एउटा छ भने कृषि तथा पशुपक्षी मन्त्रालयको तर्फबाट दिइने राहत अर्को छ ।

हामीले क्षतिको आधारमा भन्दा पनि सैद्धान्तिक निर्णय गरेर राहत घोषणा गर्ने सोच बनाएका छौँ । किनकि कति क्षति हुन्छ भन्ने नै यकिन नभएको अवस्थामा त्यही आधार क्षतिपूर्ति निर्धारण गर्न सकिने अवस्था रहेन । त्यसैले कति नोक्सानी कति क्षतिपूर्ति भन्ने सैद्धान्तिक निर्णय गर्ने तयारीमा मन्त्रालय रहेको छ । त्यसको बारेमा मन्त्रालयले छिट्टै नै आवश्यक निर्णय गर्छ ।

मन्त्रालयको तर्फबाट किसान, कृषि उद्यमीहरूलाई के भन्नुहुन्छ ?

अवस्था चुनौतीपूर्ण छ भन्ने कुरा मन्त्रालय बेखबर रहने कुरै भएन । हामीले सबै रिपोर्ट लिइरहेका छौँ । तर, परिस्थिति नै अलिकति अफ्ठारो भएकोले आजको भोलि नै राहत पाइएन भनेर नआत्तिऊँ । कृषि तथा पशुपक्षी मन्त्रालय वा नेपाल सरकारले विधि प्रक्रिया मिलाएर आफ्नो क्षमताले भ्याएसम्म किसान र कृषि उद्यमीहरूलाई सहयोग गर्छ । राहत दिन्छ, किसानले राहत पाउँछन् ।

मेरो अनुरोध के छ भने किसानहरूले जति सकिन्छ, खेती गरौँ । काम नछोडौँ । निश्चित दुरीमा रहेर, सरकारले तोकेका सुरक्षाका उपायहरू अपनाएर जग्गाहरू बांझौं नछोडौँ । जुन वस्तु लगाउन सजिलो हुन्छ, त्यही वस्तु लगाऊँ । उत्पादन गरेपछि धेरै कुरा मिलाउन सकिन्छ । त्यसैले उत्पादन गर्न नछोडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares