किसानले समान खेत बारीमै कुहाउनु पर्ने अवस्था छैन

किसानले समान खेत बारीमै कुहाउनु पर्ने अवस्था छैन

लक डाउनको समय अवधिमा कृषि ज्ञान केन्द्र चितवनले के काम गरिरहेको छ ?

हामीले जिल्लाका प्रशासनिक कार्यालय र किसानहरूसँग समन्वय गरेर काम गर्ने प्रयास गरिरहेका छौँ । मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ, त्यसलाई नियन्त्रणको लागि प्रयास गरिरहेका छौँ । किसानका समस्याहरू सुन्ने र सकेसम्म हल गर्ने प्रयास गरिरहेका छौँ । कतिपय समस्या हामीले पनि समाधान गर्न सक्ने अवस्था छैन । जस्तो कि किसानलाई अहिले युरिया मलको आवश्यकता छ । चितवनको लागि आएको युरिया वीरगन्जमा रोकिएको छ ।

त्यहाँबाट ल्याउन सकिएको छैन । विषादी व्यवस्थापनमा समस्या देखिएको छ । तर, पनि हामीले सकेसम्म समाधानको लागि पहल गरिरहेका छौँ । अरू अनुदानसँग सम्बन्धित कतिपय नियमित कार्यक्रमहरू रोकिएका छन् । सामूहिक छलफल, भेला, गोष्ठी जस्ता कार्यक्रमहरू त रोकिने नै भए ।

किसानले उत्पादन विक्री गर्न पाएनौँ, खेत बारीमै फाल्नु परिरहेको छ भनेर गुनासो गर्ने गरेको देखिन्छ । त्यो समस्या समाधानको लागि तपाइहरूले के पहल गर्नु भएको छ ?

यसमा बुझाइमा अलिकति फरक परिरहेको छ भन्ने मलाई लागेको छ । विक्री गर्न समस्या हुनुमा माग र आपूर्तिमा आएको शैलीगत परिवर्तन मुख्य कारण हो । चितवनको समग्र कृषि उपजको बजार हेर्ने हो भने ३० प्रतिशत र ७० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यसमध्ये ६० प्रतिशत बजार त काठमाडौँ हो । काठमाडौँमा अहिले माग निकै घटेको छ । त्यसको एउटा कारण करिब १५ लाख मानिसले चैत्र लागेपछि काठमाडौँ छोडेका छन्, प्रशासनको भनाइ छ ।

त्यति धेरै मानिस काठमाडौँ छोडेर आ—आफ्ना घर गएपछि माग त यसै पनि घटिहाल्छ । त्यसमाथि उपत्यकामै रहेका मानिसहरू पनि लक डाउनका कारण सहज रूपमा आफूले रोजेको बजार वा पसलमा गएर समान किन्ने अवस्था छैन । अहिले चितवनको कृषि उपजको माग घट्नुको कारण यही हो भन्ने मलाइ लागेको छ । माग घटेपछि विक्री कम हुनु स्वाभाविक हो । तर, विक्री ठप्पै भएर बारीमै कुहाउनु पर्ने, फाल्नु पर्ने अवस्था छैनन् ।

किसानले तरकारीहरू बारीमा फाल्नु परेको, दूधहरू पोख्ने गरेको समाचार गलत हो ?

सुरक्षाको मापदण्ड भित्र रहेर कृषिजन्य वस्तुको ओसार पसार गर्न प्रशासनले रोक लगाएको छैन । कही कतै समस्या छ भने त्यसलाई प्रहरी प्रशासनसँग छलफल गरेर सहजतापूर्वक टुङ्ग्याउन सकिन्छ । त्यसैले भावनामा आएर कृषि उपज फाल्नु उपयुक्त होइन । कसैले त्यसो गर्नु भएको छ भने समस्या समाधान गर्न सकिन्छ । समस्या नभएको होइन, छ । तर, समानहरू फाल्नु पर्ने अवस्था छैन ।

त्यसको लागि कसरी समस्या समाधान गर्नु हुन्छ ?

हामीले यसबारेमा जिल्लामा रहेका कृषिसँग सम्बन्धित सङ्घ संस्थाहरूसँग छलफल गरेका थियौँ । त्यही अनुसार पूर्वी चितवनको लागि एउटा र पश्चिम चितवनको लागि एउटा गाडी समान ओसार पसार को लागि प्रयोग भइरहेको छ । यो पर्याप्त पक्कै होइन । तर, किसानले उत्पादन गरेको वस्तुहरू उनीहरूकहाँ पुगेर खरिद गरेर बजार पुर्‍याउने व्यवस्था गरिएको छ । त्यसैले समान विक्री भएन भनेर अत्तालिनु पर्ने अवस्था छैन ।

किसानले साइकल, मोटरसाइकलमा पनि समान बजारमा लैजान सकिरहेका छैनन्, प्रशासनले कृषि उपज ओसार पसार मा अवरोध गरेको छैन भन्ने तपाईँको भनाइमा कसरी विश्वास गर्ने ?

मोटरसाइकलको हकमा समस्या के हुँदो रहेछ भने प्रायः दुई जना हिँड्ने । त्यसले गर्दा सामाजिक दुरी कायम हुने भएन । प्रहरीले त्यही कारण देखाएर रोकिरहेको पाइएको छ । सुरक्षाको हिसाबले त्यसलाई गलत भन्न पनि मिलेन । तर, तोकिएको समयमा कृषि उपज समान लिएर मोटरसाइकलमा एक जना मात्रै बजार जाने आउनेलाई प्रशासनले अवरोध गरेको छैन । सोधपुछ गर्नुलाई नै अवरोध गरेको भन्न मिल्दैन । बजार वा पसलमा अलि भिडभाड भएपछि त्यसलाई रोक्नुलाई अवरोध गरेको भन्ने कि सुरक्षाप्रतिको संवेदशिलता भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares