सङ्कटका सहयात्री

सङ्कटका सहयात्री

सरकारले चैत्र १० गते ‘लक डाउन’को घोषणा गरेपछि शनिस लागेजुलाई राती निद्रा लागेन । च्याउ फलेको छ, बजारमा लैजान ठिक्क छ । गर्ने के ? सुकाएर सुकुटी बनाउने कुरा दिमागमा नआएको होइन । तर, त्यो पनि सजिलो काम होइन । त्यसपछि शनिसले जे त होला भनेर बिहान सबेरै आफ्ना नियमित ग्राहक कहाँ च्याउ छोडिदिनु भयो ।

अन्योलका कारण कतिपय ठाउँमा मानिसहरूले पसल नै खोलेका थिएनन् । तर, उहाँले जे त होला भनेर ढोका ढोकामा च्याउ छोड्नु भयो । अनि घर फर्केर फेसबुकमा पोस्ट गर्नु भयो—लकडाउनको पहिलो दिन बिहानै ७४० किलो च्याउ विक्री गरियो ।

मानिसहरूमा के गरौँ, कसो गरौँ भइरहेको बेला शनिसको त्यो पोष्टले खागसरि च्याउ क्षेत्रमा एक प्रकारको चर्चा पायो । अधिकांशले राम्रो काम भन्दै प्रतिक्रिया जनाए । तर, शनिसको लागि तनावको कुरा अर्कै थियो । एक दिनको लागि पो त्यसरी समान बेच्न सकिन्थ्यो त ।

‘लकडाउन’ लामै समय जाने निश्चित भएको अवस्थामा सधैभरि कसरी काम गर्ने ? कृषि सहकारी सघं भक्तपुरका अध्यक्षसमेत रहेका शनिसले आफ्नो वासस्थान रहेको सूर्य विनायक नगरपालिका प्रमुख वासुदेव थापा, राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सरिता शर्मालाई पनि फोन गर्नुभयो ।

सबैले प्रशंसा गर्दै त्यसलाई आफ्नो उत्पादन मात्रै होइन, नगरपालिका क्षेत्रकै किसानको उत्पादन विक्री गर्ने अभियानको रूपमा सल्लाह दिए । फलस्वरूप १४ गतेबाट सूर्य विनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा घर घर गएर किसानका उत्पादन खरिद गर्ने र चोक चोकमा गएर तरकारी विक्री गर्ने कार्यको सुरुवात गर्नुभयो । अनि दैनिकी फेरियो ।

हरेक दिन बिहान किसानको घरमा जाने र दिउँसो चोक चोकमा गएर तरकारीहरू विक्री गर्ने । त्यसको लागि सरकार र विश्व स्वास्थ्य सङ्गठनले तोकेको ‘सामाजिक दुरी’ लाई मात्र होइन, सुरक्षाका अन्य उपायहरूलाई पनि कडाइको पूर्वक अवलम्बन गरिएको छ । नगरपालिका र वडा कार्यालयका प्रतिनिधिहरूले मात्र होइन, प्रहरीले पनि सहजीकरण गरिरहेको छ ।

आफ्नो त्यो अभियानमा काममा च्याउ उत्पादक किसान सङ्घका अध्यक्ष पिएन अधिकारी पनि जोडिएपछि आफूलाई अझ सहज भएको शनिस बताउनुहुन्छ । उहाँहरूले जिल्ला प्रशासन कार्यालयबाट २ वटा गाडी र मोटरसाइकलको पास लिनु भएको छ । त्यसैबाट अहिले बन्दा बन्दीमा काम गरिरहेको बताउनुहुन्छ ।

‘धेरै ठुलो काम होइन, तर हाम्रो सानो प्रयासले कम्तीमा यी दुई वटा नगरपालिकाका किसानले कृषि उपज बिकेन, बारीमा फाल्नु पर्‍यो भन्ने अवस्था आएन । त्यो कुराले सन्तोष लागेको छ’ शनिस भन्नुहुन्छ ।

अनि नाफा नि ?

शनिससंग यसको सोझो जवाफ छ । तरकारीमा २० देखि ३० प्रतिशत र अण्डामा प्रति क्रेट १० देखि १५ रुपैंया । त्यसैबाट आफ्नो सम्पूर्ण खर्च कटाएर बाँकी रहेको बल्ल खुद मुनाफा ।

‘हामीले नाफा कमाउने उद्देश्यको लागि गरेको होइन । आफ्नो समान कुहाएर फाल्नु भन्दा केही उपाय अपनाएर विक्री गरौँ भन्ने सोचले गर्दा यो काम गरेका हौँ । नगरपालिकाका प्रतिनिधिले किन आफ्नो मात्रै अरूको उत्पादन पनि विक्री गरिदिनुस् भनेपछि लौ न त भनेर गरिएको हो । त्यसैले नाफा भन्दा किसानले कुनै समान बेच्न नसकेर फाल्ने अवस्था नआओस् भन्ने हाम्रो सरोकार हो’ उहाँको भनाइ छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले देश ठप्प छ । सरकारले चैत्र १० गते सुरु गरेको बन्दा बन्दी अर्थात् ‘लक डाउन’ले गर्दा किसानले उत्पादन गरेका वस्तुहरू बजारमा जान नसकेकोले एकातिर कृषि उपज खेतबारीमै कुहिरहेको छ भने अर्कोतिर उपभोक्ताले सहज रूपमा आफूले चाहेको फलफूल किन्न पाइरहेका छैनन् । यसले गर्दा किसान र उपभोक्ता दुवै मर्कामा परिरहेका छन् ।

यस्तो अवस्थामा शनिसजस्ता केही युवाहरू भने अलिकति जोखिम मोलेर भए पनि किसानको उत्पादनलाई उत्पादकसम्म पुर्‍याउने प्रयास गरिरहेका छन् । त्यसबाट किसान र उपभोक्ताले निकै हदसम्म राहत पाएको कुरामा विवाद छैन ।

विषादी रहित उत्पादनमा रमेशको अभियान

विषादी रहित तरकारी उत्पादन र बजारीकरणको काम गर्न चाहनेहरूको लागि रमेश तुफान चिरपरिचित नाम हो । खागसरि कालीमाटी तरकारी बजारको शुद्धीकरण र किसानको सहज पहुँचको लागि निकै वर्षदेखि प्रयास गरिरहेका तुफानले केही समय अघिदेखि नयाँ बानेश्वरमा विषादी रहित तरकारी पसल सञ्चालन गरिरहनु भएको छ ।

अहिले ‘लक डाउन’को समयमा पनि ३ देखि ८ र साँझ पनि ३ देखि ८ बजेसम्म त्यो पसल त सञ्चालनमा छ नै साथसाथै उपभोक्ताको लागि घरदैलोमै विषादीरहित तरकारी पनि पुर्‍याइरहनु भएको छ । ‘सबैतिर पुर्‍याउन सम्भव हुँदैन । तर, काठमाडौँ उपत्यकामा चक्रपथ भित्र र चक्रपथबाहिर ५,७ किमी टाढासम्म तरकारी लगायतका खाद्य सामाग्रीहरू पुर्याईरहेका छौँ’ रमेशले इएग्रोन्यूजलाई भन्नुभयो ।

उहाँका अनुसार प्राङ्गारिक, सेफ फुड र विषादीरहित गरी तीन प्रकारका कृषि उपजहरू विक्री वितरण भइरहेको छ । माग गर्नेहरूले कम्तीमा एक हजार रुपैंयाको खरिद गर्नु पर्ने उहाँको भनाइ छ । ‘एक दुई किलो मात्रै होम डेलिभरी गर्छु भनेर सम्भव हुँदैन । लागत उठाउनै सकिँदैन । त्यसैले कम्तीमा एक हजार रुपैंयाको खरिद गर्ने सुनिश्चितता खोजेका हौँ’ उहाँले भन्नुभयो । हाउजिङ लगायतका समुदायमा बस्नेहरूले भने एक पटकमा धेरै व्यक्तिले किन्ने भएकोले एक जनाले एक दुई किलो पनि किन्न सक्ने उहाँले बताउनु भयो ।

मनहरिका उमेश गाउँलेका हितैषी

केही वर्ष दक्षिण कोरिया बसेर फर्किएपछि मनहरि, मकवानपुरका उमेश गौतमले व्यावसायिक तरकारी खेती गर्न थाल्नु भयो । अहिले लक डाउन सुरु भएपछि हेटौँडा वा काठमाडौँमा तरकारी पठाउन सहज छैन । अनि उमेशले गाउँ गाउँबाट तरकारी उठाएर गाउँकै पसलहरूमा दिनुहुन्छ । ‘गाउँका किसानले बजारमा पाउने मूल्य भन्दा २,३ रुपैंया बढी पाउँछन्, थोरै पाउँदैनन् । बजारमा पुर्याउंदासम्मको तनाव उनीहरूलाई हुँदैन । किनकि हामी उनीहरूको फार्मबाटै उठाउँछौँ’ उमेश भन्नुहुन्छ ।

लकडाउन सुरु भएपछि हरेक दिन बिहान किसानकोबाट तरकारी खरिद गर्ने र साँझ तरकारी विक्री गर्ने उहाँको दैनिकी हो । त्यस क्रममा उहाँलाई ४,५ जना साथीहरूले पनि सहयोग गर्नु भएको छ । ‘अहिलेको जटिल परिस्थितिमा पनि गाउँका किसानले तरकारी फाल्नु परेको छैन । स्थानीय बासिन्दाले पनि महँगोमा अन्यत्रको तरकारी खानु परेको छैन । सर्वसुलभ रूपमा गाउँकै तरकारी खान पाएपछि किसान, उपभोक्ता दुवै खुसी छन् । उनीहरूको खुसी देख्दा नै रमाइलो लाग्छ’ उमेश भन्नुहुन्छ ।

भनिरहनु नपर्ला, मकवानपुरको मनोहरि तरकारी उत्पादनको दृष्टिले पकेट क्षेत्र जस्तै हो । यहाँको तरकारीको मुख्य बजार काठमाडौँ हो । तर, अहिले तरकारी काठमाडौँ लैजाने अवस्था छैन । बजार क्षेत्रका स्थानीयले पनि तरकारी किन्न नपाउने अवस्था भइरहेको बेला उमेशले स्थानीय उत्पादन स्थानीय ठाउँमै खपत गरिदिने प्रयास गर्नु भयो, जसबाट धेरै किसानहरूले राहत पाएका छन् । उपभोक्ता पनि खुसी छन् । ताजा स्थानीय तरकारीहरू खान पाएपछि खुसी नहुनु पनि कसरी ?

नाफा भन्दा दायित्व ठुलो

नवलपरासी बर्दघाटका दीपक पाण्डेले तरकारको व्यवसाय गर्न थालेको एक दशक भयो । तर, यस्तो जटिल अवस्था अहिलेसम्म भोग्नु परेको थिएन । जस्तोसुकै बन्दको बेला पनि कृषि उपजहरूको ढुवानीमा समस्या थिएन । समस्या त, अहिले पनि छैन । तर, मान्छे भेट्दा डराउनु पर्ने अवस्था चाही यस अघि कहिल्यै आएको थिएन ।

‘जो मान्छे भेट्यो, उसैसँग डराउनु पर्ने । आफ्नै मान्छेहरूसँग टाढा टाढा बस्नु पर्ने अवस्था त कहिले आएको थियो र ?’ दीपक भन्नुहुन्छ—जस्तोसुकै अवस्था आए पनि काम त गर्नै पर्‍यो, त्यही हुनाले सकेसम्म जोगिएर काम गरिरहेको छु ।

लकडाउन सुरु भए यता दीपकले एक दिन बिराएर किसानको तरकारी बजार पुर्‍याउने गर्नु भएको छ । ‘किसानको तरकारी बारीमा सड्ने अवस्था छ । उता मानिसहरू खान नपाएर छटपटाउने अवस्था छ । त्यस्तो नहोस् भनेर अलिकति खतरा मोलेर भए पनि सकेसम्म किसानको उत्पादन बजार पुर्‍याइरहेको छु । यस्तोमा नाफा भन्दा आफ्नो दायित्व ठुलो हो भन्ने लागेको छ ।’ दीपक भन्नुहुन्छ ।

दीपक अहिले तरकारीको व्यवसायमा ठुलो नाफा नभएको दाबी गर्नुहुन्छ । ‘प्रति किलो ४,५ रुपैंया नाफा लिनै पर्छ । त्यति नाफा नलिए आफू घाटामा जाने अवस्था आउँछ । त्यो भन्दा धेरै नाफा हामी लिँदैनौँ । तपाईँले अहिले मात्र होइन, अरू बेला जहिले पनि छानबिन गरे हुन्छ । तरकारीको व्यापारमा नाफा धेरै छैन, हल्ला धेरै हो । ’ उहाँ भन्नुहुन्छ ।

बर्दघाटकै अर्का व्यवसायी रघुवर कुर्मी ‘पेसाप्रति बफादार बन्न खोज्दा घर वरपरकै मान्छे रिसाएको’ बताउनुहुन्छ । ‘पहिलादेखिका नियमित किसान र व्यापारीहरू सम्पर्कमा हुने नै भए । किसानले तरकारी कुहिन थाल्यो, कहिले लिन आउनुहुन्छ भनेर फोन गर्छन् । उता बजारका व्यापारीहरू पनि तरकारी चाहियो भन्दै फोन गर्छन् ।

त्यो बेला नाइ भन्ने कुरै आउँदैन । आफ्नो बाँच्ने आधार नै त्यही हो । अहिले उनीहरूलाई आवश्यकता परेको बेला समान नउठाए, भोलि किसानले समान दिँदैनन् । व्यापारीले पनि मसँग किन्ने कुरा हुँदैन । यता घर वरपरका मान्छे चाही कहाँ कहाँ गएर कोरोना नै बोकेर आयो भनेजस्तो गर्छन् । त्यसैले तनाव छ । तर पनि काम गर्नै पर्‍यो’ कुर्मीको भनाइ छ ।

कुर्मीले नारायणगढ बजारसम्म तरकारीको व्यापार गर्ने गर्नुभएको छ ।

बाध्यताले बनेका व्यापारीहरू

पाल्पा, जरेपिपलका वसन्तराज विष्ट खासमा व्यावसायिक किसान हुनुहुन्छ । तर, लक डाउनको बेला उहाँ आफै पनि व्यापारी बन्नु भएको छ । ‘म व्यापारी होइन, किसान हुँ । मैले अरू बेला आफ्नो उत्पादन विक्री गर्छ । तर, अहिले लकडाउनको बेला वरपरका अरू साथीहरूको उत्पादन पनि बजार पुर्‍याइदिने गरेको छु । आफ्नो गाडी भएकोले त्यो काम गरेको हुँ ।’ उहाँले भन्नुभयो । विष्टले बुटवल र तानसेन तरकारी पुर्‍याउने गर्नुहुन्छ ।

लक डाउनलाई कतिपय उद्यमीहरू भने व्यापार विस्तार गर्ने मौकाको रूपमा पनि लिइरहेका छन् । उदाहरणको रूपमा बुटवलमा सबल ग्रुप नामक व्यावसायिक कम्पनी चलाइरहेका रिसब पोख्रेललाई नै लिऊँ । उहाँहरूले अहिलेसम्म च्याउको उत्पादन र बजारीकरणको काम गर्दै आइरहनु भएको छ । तर, अहिले लकडाउनका बेला च्याउका ग्राहकहरूले ‘तरकारी पनि ल्याइदिनुस् न’ भनेर माग गर्न थालेपछि अब नियमित रूपमा तरकारीको पनि काम गर्ने सोचमा आफूहरू पुगेको रिसव बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares