‘लकडाउन’मा कृषक महिला उद्यमी

‘लकडाउन’मा कृषक महिला उद्यमी

शान्ता बास्कोटा कोइराला

‘ध्यान र अनलाइन बैठकहरू गर्दैछु’

परिवारसँग बसेर दिन बिताउदैछु । त्यसबाहेक केही अनलाइन कोर्सहरू गर्दैछु । बेला बेलामा अफिसका साथीहरूसँग अनलाइन मिटिङहरू पनि गर्छु भने विभिन्न उद्यमीहरूसँग पनि छलफल गर्ने गरेकी छु ।

ध्यान, ख्यासगरि भावातित ध्यान नियमित गर्छु । यसले जस्तोसुकै परिस्थितिमा पनि तनाव हुन दिँदैन । कोरोना भाइरसले विश्वकै उत्पादन र बजारीकरणको शैलीमै परिवर्तन गर्छ कि जस्तो लागिरहेको छ, त्यो अवस्थामा के गर्ने भनेर विचार गर्दैछु ।

 

 

 

राधा मटाङगी
पुष्प उद्यमी, भक्तपुर

‘फार्ममा जानै नसक्ने अवस्था’

स्थिति एकदमै तनावपूर्ण छ । घरबाट ३/४ किमी टाढा फार्म छ । तर, जान पाइरहेको छैन । फूलको सिजन, टिपेर बजार पुर्‍याउने सम्भावनै छैन । त्यसैले दिनहुँ टिप्दै फाल्दै गरिरहेकी छु । यस्तो बेलाको लागि किसान परिचय पत्र आवश्यक पर्दो रहेछ ।

किसान परिचय पत्र वितरण हुने र त्यो परिचय पत्र भएकाहरूको लागि आवश्यक काम गर्न अवरोध नगर्ने नियम लागू गर्ने हो भने कम्तीमा फार्ममा गएर व्यवस्थापन गर्न त सम्भव हुने थियो । अहिले त त्यो अवस्था नै छैन । एक त फार्ममा जानै सकिँदैन । गै हालियो भने पनि सामान बजारमा पुर्‍याउने अवस्था छैन । छटपटाउँदै घरमै बस्नु जस्तो पीडा अरू के होला र ?

 

 

मिलन खड्का,
प्राङ्गारिक किसान, बुढानीलकण्ठ, काठमाडौँ 

एक त महिलाहरू सधैँ बेफुर्सदी हुन्छन् । उनीहरूलाई घरधन्दाबाट कहिल्यै फुर्सद हुँदैन । त्यसमाथि हामी जस्तो कामकाजी महिलाहरूको लागि त सधैभरि चटारो हुन्छ । अहिले त झन् कामदार कोही छैन । सबैलाई बिदा दिइएको छ ।

त्यसैले सबै काम आफै गर्नु पर्ने भएकाले भ्याइ नभ्याई छ । दुई वटा दुहुना गाई छन् । कुखुरा छन्, तरकारी छन् । ती सबैको व्यवस्थापन गर्दा फुर्सदै हुँदैन । केही नियमित ग्राहक हुनुहुन्छ, उहाँहरूलाई जसरी पनि घरमै पुर्‍याइदिनुहुन्छ भने वरपरका ग्राहकहरू फार्ममै आउनुहुन्छ ।

 

भगवती भण्डारी
केकलादेवि कृषि तथा पशुपक्षी फार्म, नीलकण्ठ नपा २, धादिङ

‘गाउँमा गाह्रो छैन’

गाउँमा बस्नुको एउटा फाइदा यस्तै बेलामा हुन्छ । बन्द, हडतालबाट आत्तिइहाल्नु पर्दैन । चैते धान रोपेर भर्खर सकेँ । ३२ वटा बाख्रा थिए, ५० वटा पुर्‍याउनको लागि गोठ ठुलो बनाउँदैछु । बिहान ६ बजेदेखि ९ बजेसम्म धादिङ बजार खुल्छ । शुक्रवार बिहान केही समानहरू किन्न गएकी थिए । ठिकै छ । तरकारीहरू बेच्न अलि कठिन भए पनि आत्तिइहाल्नु पर्ने अवस्था छैन ।

 

लक्ष्मी वाग्ले
म्याग्दे गाउँपालिका वडा नं ३, तनहुँ

‘विशेष गरी ठुला किसानको बिचल्ली’

बिरामी भएकाले केही समयदेखि व्यवसायीक रूपमा उत्पादन गरेकी छैन । तर, म आईपियम कार्यकर्ता भएकाले तालिमहरू दिने, किसानहरूका समस्या समाधानको लागि पहल गरिदिने काम गरिरहेकी छु । त्यसैले यस क्षेत्रका धेरै किसानसँग सम्पर्कमा छु ।

बन्दले गर्दा यस क्षेत्रका किसानको अवस्था बेहाल भएको छ । काम गर्न मजदुर पाइँदैन । व्यापारीहरू फार्ममै आउँथे, अहिले तिम्रो पसलमै ल्याइदिन्छु भन्दा पनि पर्दैन भन्छन् । मेरो घर नजिकै राजु श्रेष्ठ भन्ने एक जना किसानले काँक्रो र फर्सी काटेर भैँसीलाई खुवाइरहनु भएको छ । भैँसीले खान नसक्ने उत्पादन मलखादमा फालिरहनु भएको छ ।

कुखुराको मूल्य आधाभन्दा धेरै घटेको छ । घरमा पालौँ भने दाना पाइँदैन, बेचौँ भने आधा मूल्य पनि पाइँदैन । काम गर्नलाई कामदार पाइँदैन । स्थिति निकै डामाडोल छ । साना किसानभन्दा अलिकति व्यावसायिक रूपमा काम गरिरहेका ठुला किसानहरूको अवस्था अहिले बेहाल भएको छ ।

 

गीता थापा
जनचेतना कृषक समूह, सन्धिखर्क न.पा ८, किमडांडा अर्घाखाँची

‘गाउँमा खासै अफ्ठेरो छैन’

हाम्रो समूहमा २५ जना छौँ । धेरै जसो बाख्रा पालन गर्ने किसान छौँ । लकडाउनले गर्दा दाना पाइएको छैन । तर, इपिल इपिलको साथै किम्बु लगायतका डाले घाँसहरू भएकोले आत्तिइहाल्नु पर्ने अवस्था छैन । बाख्रा चराउनको लागि केही मात्रामा बारीहरू पनि भएकोले आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares