लकडाउनमा कृषि उद्यमीको समय व्यवस्थापन

लकडाउनमा कृषि उद्यमीको समय व्यवस्थापन

गौरव श्रेष्ठ
श्रेष्ठ एग्रि इन्पुट्स, बलम्बु

“चितवनमा थुनिएको अवस्थामा वसिएको छ”

म चितवनमा आएको थिए । यहां पनि अफिस भएकोले आउने जाने भैरहन्छ । एकैपटक ठप्पै हुन्छ भन्ने थिएन । त्यसैले लक डाउन हुने कुरा राती बल्ल थाहा पाएं । काठमाण्डौ फर्किनै पाइन ।

नारायणगढमा सानो बुबा, सानी आमाको घरमा बसिरहेको छु । त्यसैले घरमै बसेजस्तै छ । घर नजिकै खुल्ला ठाउं, खेतहरु भएकोले विहान एक डेढ घण्टा घुम्छु । अरु खासै काम केही छैन । खाना खायो, समाचार हेर्यो, फेसबुक चलायो दिन कटायो । यस्तै भैरहेको छ ।

अहिले किसानको गहुं काट्ने बेला हो । उनीहरुको लागि आवश्यक पर्ने समान उपलब्ध गराउन सकिएको छैन । उपलब्ध गराउंछु भनेर प्रतिवद्धता जनाएकै समानहरु पनि उपलब्ध गराउन नसकिएको अवस्था छ । किसानले पनि काम गर्न पाइरहेका छैनन् । यसले गर्दा सबै क्षेत्रमा भद्रगोल अवस्था भएको छ । प्रदेश सरकारले पनि यसबारेमा गंभिर भएर विचार गर्नु पर्छ भन्ने लागेको छ ।

 

अर्जुन लुईटेल जी ७ एग्रिकल्चर
सातदोबाटो, ललितपुर

“किसान र विज्ञ बिच छलफल गर्ने सुनौलो अवसर”

घरबाट बाहिर निस्किएको छैन । कृषिसंग सम्वन्धित किताबहरु पढिरहेको छु । साथीभाईसंग टेलिफोनमा कुराकानी हुंदा पनि राम्रैसंग समय वित्छ ।
शहर बजार ठप्प भए पनि गाउंको जनजीवन राम्रै चलिरहेको छ । किसानहरु खेत बारी र फार्ममै छन् । त्यसैले किसानहरुसंग नियमितरुपमा सम्पर्कमा रहने गरेको छु । समस्याहरुको बारेमा छलफल हुने गरेको छ । त्यसको लागि लामो बन्द एउटा अवसर पनि हो ।

किसान र विज्ञहरु बीचको छलफल, सम्पर्कको लागि अहिलेको जत्तिको उपयुक्त समय अरु कुनै हुन्छ जस्तो मलाई लाग्दैन । किनकी विज्ञहरु पनि यतिबेला खाली नै हुनुहुन्छ । उहांहरु पनि घरमै बसेको बेला किसानका कुरा सुन्नको लागि यो एउटा सुनौलो मौका हो । त्यसैले किसानले अहिलेको समय विज्ञहरुसंगको सम्वन्ध बढाउन र छलफल गर्नको लागि उपयोग गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

 

उद्धव अधिकारी
सहसंयोजक
जैविक नेपाल राष्ट्रिय अभियान, नेपाल

मेरो लागि लक डाउन दशैं जस्तो भएको छ । दशैंमा मात्रै घरका सबै परिवार जुटिन्थ्यो । अहिले पनि सबै जना जुटेका छौं । त्यसैले रमाइलो माहोल छ । ५ वर्षको नाती छ । उसंग खेल्न थालेपछि समय वितिहाल्छ । त्यसमाथि किसान भएकोले गाईवस्तु स्याहार्नेदेखि बारीमा काम गर्दा समय वितिहाल्छ । बाहिर जाने काम बन्द भएको छ, त्यत्ति हो ।

 

 

 

 

यादवलाल कर्माचार्य
एग्रो विजनेश सेण्टर, कालिमाटी

“कामकाजी मान्छेको लागि छटपटाउनु पर्ने अवस्था छैन”

पहिले नै च्याउको बीउ अर्डर गरेर नलेगेका किसान साथीहरु बिहान ५ बजे नै आउनुहुन्छ । उहांहरुलाई गेट बाहिरै राखेर बीउ उपलब्ध गराउने गरेको छु । बिहानमा करिब १ घण्टा ध्यान गर्ने र करिब पूजा गर्ने, गायत्री मन्त्र जप्ने मेरो पहिलेदेखिको नियमित दिन चर्या हो । त्यसमाथि फूलहरुमा पानी हाल्ने, गोडमेल गर्ने, माछाहरुसंग खेल्ने तथा सिताके च्याउको स्याहार सुसार गर्दा गर्दै समय वितिहाल्छ । साथीभाईसंगको भेटघाट कम भएको छ, अरु दैनिक दिन चर्या नियमित नै छ । समय कसरी विताउने भनेर छटपटाउनु पर्ने अवस्था छैन ।

 

दुर्गा दाहाल
दाहाल ट्रेडिङ कन्सर्न, त्रिपुरेश्वर

“थर्मामिटर र सिटामोल घर घरमै पुर्याइदिउ”

पसल जान सक्ने अवस्था छैन । यति साह्रै होला भन्ने भएको भए पसलका कतिपय समानहरु घर वा गोदाममा ल्याएर पनि रािखन्थ्यो होला । खातापाता पनि ल्याइएन । त्यसैले गर्छु भनेका कामहरु पनि गर्न पाएको छैन । हिसाब किताब र त्यसको फलो अप पनि गर्न पाएको छैन ।

गोदाम र घर एकै ठाउंमा भएकोले सवारी साधानको पास लिएका कतिपय साथीहरु समान लिन आउनुहुन्छ । उहांहरुलाई उपलब्ध गराउनु पर्ने समान उपलब्ध गराइरहेको छु । अन्यथा अरु खासै काम छैन । पकाउने खाने टेलिभिजन हेर्ने गरेर समय विताइरहेको छु ।

अहिलेको आतंकबाट पाठ सिकेर सरकारले हरेक घरमा कम्तिमा थर्मामिटर र सिटामोल पुर्याउने तर्फ तत्कालै कदम चाल्नु पर्छ भन्ने मलाई लागेको छ । ज्वरो आफै नाप्ने र समस्या भएकाहरुले यो ठाउंमा सम्पर्क गर भनेर सम्पर्क दिने हो भने धेरै हदसम्म समस्या समाधान हुन सक्छ । नागरिकहरु अत्तालिने अवस्था पनि आउंदैन । त्यसैले सरकारले नागरिकहरु के चाहान्छन्, उनीहरुमा के के कुराको डर, चिन्ता छ भन्ने कुरा ख्याल गरेर तिनीहरुलाई संवोधन गर्ने प्रयास गर्ने हो भने समस्या धेरै चर्किन्छ जस्तो मलाई लाग्दैन । मुख्य कुरा सरकारको इच्छा शक्ति हो ।

 

किरण खरेल
फिक्स सिड्स नर्सरी, बनेपा

“घांस उद्यममा आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन”

विक्री वितरण रोकिएको छ । त्यसैले कारोवार पनि रोकिएको छ । त्यसवाहेक अरु गतिविधिमा खासै परिवर्तन आएको छैन । घांसको बीउ र बेर्ना उत्पादन गर्ने भएकोले टियोसेण्टी, काउकी, राई घांस लगायतका हिउंदे घांसका बेर्नाहरु नविक्ने संभावना बढेको छ । केही दिन भित्रमा किसानकहां पुर्याउन नसके तिनीहरुलाई फाल्नुको विकल्प छैन । किनकी अर्काे वर्ष राम्रो उत्पादन हुदैंन । त्यसवाहेक अरु कुनै परिवर्तन आएको छैन । वर्षे घांसको लागि काम गर्ने बेला आउंदैछ । त्यतिन्जेल अहिलेको समस्या समाधान हुन्छ भन्ने लागेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares