‘लक डाउन’को अवधिमा कृषि क्षेत्रमा गरिनु पर्ने कामहरु

‘लक डाउन’को अवधिमा कृषि क्षेत्रमा गरिनु पर्ने कामहरु

लामो बन्दले देशको मात्र होइन, संसार भरकै जनजीवन नराम्रोसंग प्रभावित भएको छ । यो अवस्थाले नेपाली किसान, व्यवसायी, कृषि उद्यमी सबैलाई गंभिर असर पारेको छ । अहिलेको समस्या एक ठाउंमा छ, ध्यान दिइएन भने कोरोना माहामारी सकिएपछि झन ठूलो समस्या आउने निश्चित छ । किनकी अहिले उत्पादनको लागि गरिनु पर्ने कामहरु हुन सकिरहेका छैन ।

अहिले उत्पादन प्रकृया शुरु नभएपछि केही समयपछि बालीहरुको उत्पादन हुने छैन । अर्थात् खासगरि तरकारीको चरम अभाव सृजना हुनेछ । त्यो अवस्था आउन नदिनको लागि सरकार, किसान, विज्ञ सबैले अहिले नै गंभिररुपले विचार गरेर आवश्यक कदम चाल्नु पर्छ । त्यसको लागि के गर्ने ? यो आलेखमा तिनै विषयहरुमा वूंदागत रुपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

आपतकालिन संकलन केन्द्रहरु बनाइहालौं

अहिले किसानले उत्पादन गरेको बस्तु टिप्न र बजारमा पुर्याउन गाह्रो भैरहेको छ । त्यो अवस्थामा सरकारले आवश्यक सुरक्षाका उपायहरुसहित हरेक वडा कार्यालयहरुले संयोजन गर्ने गरि वितरण प्रणाली व्यवस्थापन गर्नु पर्छ । हरेक वडाहरुमा आपतकालिन संकलन केन्द्रहरु बनाएर किसानले त्यहां ल्याएर समान बेच्न सक्ने र उपभोक्ता तथा अरु व्यापारीले त्यहंीबाटै समान लैजाने व्यवस्था गर्नुपर्छ ।

त्यसो भएमा किसानले आफ्नो उत्पादन खेत बारीमै कुहाउनु पर्ने र उपभोक्ताले दोब्बर, तेब्बर मूल्यमा पनि समान किन्न नपाउने अवस्थाको अन्त्य हुनेछ । बजारको ‘चेन’ पनि व्यवस्थित हुनेछ र किसानहरु आर्थिक समस्यामा पर्ने अवस्था पनि आउने छैन ।

खेतबारीमा काम गर्दा अपनाउनु पर्ने सुरक्षा प्रणाली

कोरोना भाइरसको माहामारीले सबैलाई छोएको छ । तर, त्यसको आतंक र असर गाउंको तुलनामा शहरमा बढी छ । गाउंमा व्यक्ति व्यक्तिबीचको दूरी व्यवस्थापन गर्न जति सहज छ, शहरमा त्यति सहज छैन । त्यसैले अहिलेको अवस्थामा ग्रामीण क्षेत्रका किसानहरुले नियमित रुपमा काम गरिरहेकै छन्, गर्नैपर्छ । त्यसको लागि कम्तिमा १०, १२ फिटको दूरीमा जति सक्दो थोरै मान्छे संलग्न भएर काम गर्ने र कामको दौरान र काम सकिएपछि पनि पूर्णरुपमा सुरक्षाका उपायहरु अपनाउनु पर्छ भनेर मैले सुझाव दिने गरेको छु । जस्तोकि खाली खुट्टा कुनै काम नगर्ने, हातमा पन्जा, मास्क, टोपी लगाउने, बेला बेलामा हात धुने आदी गर्नुपर्छ ।

हरेक किसान, व्यापारी सूचनाको वाहक बनौं

धेरै रोगहरु एक अर्काेको सम्पर्कबाट सर्ने भएकोले त्यसबाट बच्नको लागि समान टिप्दादेखि नै सचेतता अपनाउनु पर्छ । टिप्दा पन्जा लगाउने, फार्ममा वा घरमा केही समयको लागि भण्डारण गर्दा पनि भुसुनाहरु नलागोस भनेर सरसफाइमा ध्यान दिने र बेच्ने बेलामा पनि निश्चित दूरी कायम गर्नुपर्छ । साथै किसानले व्यापारीलाई पनि आफूले समान उत्पादन गर्दा अपनाएको सावधानी बताउंदै ‘तपाई पनि यसो गर्नुस’ भन्ने सन्देश दिने र व्यापारीले पनि समान बेच्दा त्यस्तो खालको सन्देश प्रवाह गर्ने परिपाटीको विकास गर्नु जरुरी छ ।

त्यसले गर्दा कृषि उपजको गुणस्तरिता प्रतिको विश्वांस बढ्नेछ भने समग्रमा कृषि पेशा मर्यादित र सुरक्षित बन्नेछ । साथै समान खरिद गरेपछि र विक्री गरेपछि साबुन पानीले हात धुने बानीको विकास गर्नु जरुरी छ । हामीले प्रायः खाने बेलामा मात्र हात धुने गर्छाैं, त्यतिले मात्र हुंदो रहेनछ भन्ने कुरा अहिले थाहा भयो ।

रोग, किराको व्यवस्थापनको लागि यसो गरौं

चैत्र भनेको मौसम परिवर्तनको समय हो । अब विस्तारै गर्मी बढ्दै जान्छ र त्योसंगसंगै रोग किराको प्रकोप पनि बढ्दै जान्छ । तर, अहिले बन्द भएकोले त्यो समाधानको लागि विषादी खोज्दै बजार जाने अवस्था छैन । त्यही कारण किसानले रोग वा किराको लक्षण देखिनासाथ फोटो र भिडियो खिचेर आफ्नो सम्पर्कमा रहेका विज्ञहरुसंग तत्कालै सुझाव लिइहाल्नु पर्छ ।

नेपाल एग्रो लाइभले आफूसंग सहकार्य गरिरहेका किसानहरुको हकमा उनीहरुको समस्या समाधानको लागि भिडियोबाटै सुझावहरु दिइरहेको छ । जुन जुन कम्पनी, व्यवसायी वा विज्ञहरुसंग सम्पर्क छ, उहांहरुसंग सम्पर्क गरेर लक्षण देखिनासाथ समस्या समाधानको लागि तयारी गरिहाल्नु पर्छ । बन्दको बेला भएकोले एक, दुई दिन हेरौं भनेर पर्खिनु घातक हुन सक्छ ।

उत्पादन बढाउन छोटो अवधिका बालीहरु रोजौं

पहिले रोपेका उत्पादन भएकोले अहिलेलाई कृषि उपजको अभाव छैन । तर, अहिले रोप्न नपाएको अवस्थामा यो माहामारी सकिएपछि खासगरि तरकारीको चर्काे अभाव हुने देखिएको छ । विश्वव्यापी रुपमै यो समस्या रहेकोले भारत लगायतका अरु देशहरुबाट पनि समान आउने संभावना कमै रहन्छ । किनकी उनीहरुले पहिले आफ्नो देशको माग र आपूर्तीको सन्तुलन मिलाउन प्रयास गर्छन् । त्यो अवस्थामा निकासीलाई रोक लगाउने लगभग निश्चित छ । त्यसैले अबको केही समय हाम्रो बजारको मागलाई आफ्नै आन्तरिक उत्पादनले जसरी पनि धान्नै पर्छ । त्यो भन्दा अर्काे विकल्प छैन ।

त्यसको लागि हामीसंग समय छैन । किनकी एक महिनाको समय बन्दमा वित्नु भनेको एउटा बाली चक्र नै प्रभावित हुनु हो । त्यो अवस्थालाई मिलाउनको लागि अब किसानले छोटो समयमा फल्ने र विक्री गर्न सकिने साग, तरकारी बालीहरुको उत्पादनमा ध्यान दिनु पर्छ । त्यसबाट किसानले अहिले भोग्नु परेको आर्थिक नोक्सानी पनि छिटो पूर्ती गर्न सजिलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares